राजनीति

एमाले र परिवार दलबीच चुनावी तालमेल



काठमाडौँ, ३० चैत । नेकपा एमाले र नेपाल परिवार दलबीच स्थानीय तह निर्वाचनमा तालमेल हुने भएको छ ।

देशभर तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउनेलगायत पाँच बुँदे सहमति भएको हो । एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र नेपाल परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच चुनावी तालमेल सहमति पत्रमा आज हस्ताक्षर भएको हो ।

एकनाथ ढकाल अध्यक्ष रहेको परिवार दलले आफ्ना उम्मेदवार नभएका सबै ठाउँमा एमालेलाई सघाउने भएको छ । साथै परिवार दलका उम्मेदवारलाई एमालेले सहयोग गर्ने भएको छ । एमाले र परिवार दलका जिल्ला कमिटीले आपसमा छलफल गरेर तालमेलका सम्बन्धमा निर्णय लिने पनि सहमति भएको छ । परिवार दलले सूर्य चिन्ह लिएर चुनाव उठ्ने भएको छ ।