विश्व

अमेरिकासँगको २+२ बैठकअघि भारतद्वारा रुससँगको सम्बन्धबारे प्रतिबद्धता



नयाँ दिल्ली, ४ बैशाख । संयुक्त राज्य अमेरिकासँगको द्विपक्षीय वार्ता हुनुअघि भारतले रुससँगको आफ्नो सम्बन्धलाई थप स्थायीत्व दिने प्रतिबद्धता व्यक्त गरेको छ।

भारतले आफ्नो रुससँग गहिरो सम्बन्ध भएको उल्लेख गर्दै रुसमाथि अहिले व्यापक प्रतिबन्ध भएको अवस्थालाई केन्द्रमा राख्दै सम्बन्ध विस्तार गर्ने बताएका छन्। भारतले रुससँगको व्यापार सम्बन्धलाई कटौती गर्नका लागि आएका सम्पूर्ण अन्तर्राष्ट्रिय दबाबहरुलाई खारेज गर्नेसमेत बताएको छ। भारतले रुससँग व्यापारलाई निरन्तरता दिनका लागि भुक्तानीको संयुक्त र सुलभ संयन्त्र निर्माणका लागि पहल भइरहेकोसमेत बताएको छ। यद्पि अमेरिकाले भने भारतले रुससँग कुनै पनि पेट्रोलियम आयात नगरोस् भन्‍ने चाहन्छ।

भारतको वैधानिक उर्जा कारोबारलाई राजनीतिकरण गरेर दुई मुलुकको सम्बन्धमा नै समस्या ल्याउन खोजिएको देखिन्छ। रुसमाथि विश्‍वभरका विभिन्‍न मुलुकहरुलाई प्रतिबन्ध लगाउन आग्रह गरिए पनि ती मुलुकहरुको व्यापार सम्झौताका कारण प्रतिबन्ध लगाउन सकेका छैनन्। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बग्चीले रुससँगको सम्बन्धका विषयमा भारत खुला रहेको बताएका छन्। अमेरिकी प्रतिबन्धका बाबजुद रुससँग कुनै मुलुकले सम्बन्ध विस्तार र व्यापार सम्झौता गरेको अवस्थामा त्यसको परिणाम राम्रो नहुने चेतावनी आइरहेको भन्‍ने मिडियाहरुको प्रश्‍नको जवाफ दिने क्रममा प्रवक्ता बग्चीले रुससँगको भारतको सम्बन्ध कसैले बिगार्न नसक्ने बताएका हुन्। अमेरिकासँग भारतको तर्फबाट रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस जयशंकरको प्रतिनिधि मण्डलले वार्ता गरेको हो। युक्रेनमाथि रुसले लगातार आक्रमण गरेपछि पश्‍चिमा मुलुकहरुले रुसमाथि प्रतिबन्ध लगाएका हुन्। त्यसैगरी भारतले भने रुसलाई वार्ताका माध्यमबाट समस्याको समाधान गर्न दुबै पक्षलाई आग्रह गरिरहेको छ।