कैलाली, २६ बैशाख । कैलालीका महिला मतदाता महिलाका मुद्दा सम्बोधन गर्न सक्नेलाई मत दिने पक्षमा रहेको बताउन थालेका छन् । मतदाता स्थानीय तह निर्वाचनमा पाँच वर्षका लागि नेतृत्व छान्नुपर्ने भएकाले लैङ्गिक मुद्दा बुझेको उम्मेदवार नेतृत्वमा ल्याउनुपर्ने विषयमा छलफल गर्न थालेका छन् । महिलाहरु लैङ्गिक मुद्दा नबुझेको उम्मेदवार पालिकाको नेतृत्वमा आए महिला झन पछाडि पर्ने भएकाले सचेत रहन आग्रह समेत गरिइएको छ ।लम्कीचुहा नगरपालिकाकी टीका रसाइली यसपटक महिलाका मुद्दा अघि सारेर निर्वाचनमा खटिएको उम्मेदवारलाई जिताउने पक्षमा रहेको बताउछिन् । “महिला उम्मेदवार पनि मैदानमा हुनुहुन्छ, हामीले महिलाका क्षेत्रमा काम गर्न सक्ने उम्मेदवार छान्ने सल्लाह गर्न थालेका छौँ”, उनी भन्छिन्, “सबै दलका स्थानीय घोषणापत्रसमेत हेरिरहेका छौँ ।
उम्मेदवारको यसअघिको क्रियाकलापलाई समेत ध्यान दिएका छौँ ।” यसपटक स्थानीय तह निर्वाचनमा महिला उम्मेदवार पनि कम छन् । प्रमुख र उपप्रमुखमध्ये एक पदमा महिला अनिवार्य गरिए पनि कतिपय ठाउँमा दुवै पदमा पुरुष उम्मेदवार छन् । यसले अझ महिलाको नेतृत्वलाई घटाउने जोखिम बढेको महिला मतदाता बताउँछन् । जानकी गाउँपालिकाकी लिला जैसी महिलाका मुद्दामा सबैभन्दा बढी संवेदनशील हुनुपर्ने सरकार र दलहरु नै हुनुपर्ने बताउछिन् । “हामीले उम्मेदवारले यसअघि सामाजिक भूमिका रहँदा महिलाको समानताका लागि गरेका कामबारे पनि मूल्याङ्कन गर्छौं”, उनले भनिन्, “यसका साथै दलले महिलालाई अवसर दिँदा प्राथमिकता कतिको दिएको इतिहास छ भन्ने कुरा पनि हेर्ने हो । यसपटक महिला मतदाता सचेत हुनुपर्छ ।”
टीकापुरकी रुविना चौधरी सबै समुदाय र क्षेत्रका मानिस समेटेर मैदानमा उत्रिएका उम्मेदवार जिताउने तयारीमा रहेको बताउछिन् । “समाज विकासका लागि सक्षम र काम गर्ने इच्छाशक्ति भएको नेतृत्व चाहिन्छ”, उनी भन्छिन्, “निर्वाचनमा उम्मेदवार भएका यसअघि समाजमै क्रियाशील हुनुहुन्छ । यसअघि उहाँहरुले महिलाका विषयमा गरेका काम पनि हेर्छौं, अवसर र सक्षमताका लागि पहल गरेका कार्यबाट उहाँहरुलाई मूल्याङ्कन गर्ने हो ।” महिला दलका घोषणापत्रमा स्वास्थ्य सेवा, शिक्षा, कृषिजस्ता कुरा मात्र समेटिएका गुनासो गर्छन् । राजनीतिक दलले महिलाका सानासाना समस्या समाधानमा ध्यान दिनेखालका घोषणा गरेको देखिँदैन । टीकापुरकी प्रियङ्का परियार महिलालाई स्वरोजगार बनाउने, रोजगारीमा प्राथमिकता दिनेजस्ता प्रतिबद्धता आउनुपर्ने बताउछिन् ।










प्रतिक्रिया दिनुहोस्