काठमाडौँ, २६ बैशाख । स्थानीय तह निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका पाँच जना म्यादी प्रहरीको मृत्यु भएको छ । एक जनाले आत्महत्या गरेकी छन् ।
ड्युटीमा खटिएकाहरुमध्ये काठमाडौँ, हुम्ला, सिन्धुपाल्चोक र नुवाकोटमा एक-एक जना म्यादी प्रहरीको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । सिन्धुपाल्चोककै एक जना म्यादी प्रहरीले भने आत्महत्या गरेको छ ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी-६ पिपलडाँडाका दुर्गासिं बस्नेतको भीरबाट लडेर मृत्यु भएको थियो । नुवाकोटमा खटिएका योगेन्द्र न्यौपानेको पनि दुर्घटनामा मृत्यु भएको थियो । यसैगरी हुम्लामा डेरा गरी बस्दै आएका सर्केगाड गाउँपालिका-६ का जसबहादुर रोका सुतेकै अवस्थामा मृत भेटिएका थिए । सिन्धुपाल्चोककी अनिता भट्टराईले भने विष सेवन गरी आत्महत्या गरेकी थिइन् ।
यसैबीच निर्वाचन सुरक्षाका लागि खटाइएका म्यादी प्रहरीमध्ये आचरण विपरीत गतिविधि गरेको आरोपमा ४८ जनालाई बर्खास्त गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सबैभन्दा बढी लुम्बिनी प्रदेशबाट ११ जना बर्खास्तमा परेका छन् । यसैगरी सुदूरपश्चिम प्रदेशबाट ९ जना, वाग्मती, गण्डकी र कर्णालीबाट ८/८ जना र मधेश प्रदेशबाट ४ जना म्यादी प्रहरीलाई कारबाही गरिएको हो ।










प्रतिक्रिया दिनुहोस्