राजनीति

काँग्रेसका महामन्त्री थापालाई लाग्यो झट्का



काठमाडौँ, ५ जेठ । नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई अहिले झट्का लागेको छ ।

महामन्त्री थापाले जितेको काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ मा स्थानीय तह निर्वाचन २०७९ मा नेकपा (एमाले)ले जितेपछि उनलाई झट्का लागेको हो ।

थापाको निर्वाचन क्षेत्रमा बूढानीलकण्ठ नगरपालिकाका ८ वटा वडा र काठमाडौँ महानगरपालिकाका ४ वटा वडा पर्दछन् । बूढानीलकण्ठ नगरपालिकाका वडानम्बर १, २, ८, ९, १०, ११, १२ र १३ काठमाडौँको ४ नम्बर निर्वाचन क्षेत्रमा पर्छन् । यी सवै वडाको वडाध्यक्ष एमालेले जितेको छ । यस्तै बूढानीलकण्ठको मेयर र उपमेयरमा पनि एमाले विजयी भएको छ । यो नगरपालिकाको वडा नम्बर १ मा एमालेका सुरेन्द्र लामाले ८४५ मत ल्याएर विजयी बन्दा काँग्रेसका उम्मेदवार उत्तम खड्काले ४७३ मत पाए भने वडानम्बर २ एमालेकै राजेन्द्र श्रेष्ठ ११६० मतले निर्वाचित भएका छन ।

वडानम्बर ८ मा एमालेका सुमन तामाङले १५२२ मत ल्याउँदा,९ मा सुमित्रा त्रिपाठी ९४८ मतसहित विजयी भएकी छन । यता १० मा नवराज भट्टराईले २५८१ मत ल्याएर निर्वाचित भए । ११ नम्बर वडामा एमालेका राजु अधिकारी १२९३ मत ल्याएर निर्वाचित भएका छन ।

१२ नम्बर वडामा शम्भु भट्टराई र १३ मा टीकानारायण श्रेष्ठले क्रमश १३७९ र १६८७ मत ल्याएर निर्वाचित बन्दा काँग्रेसका सुनित चालिसे र भरत श्रेष्ठले क्रमश ११४२ र १४७३ मत मात्र पाए । बूढानीलकण्ठका ८ वटै वडा बाहेक काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा पर्ने काठमाडौँ महानगरपालिकाको सार्वजनिक परिणाममध्ये वडानम्बर १ पनि एमालेले नै जितेको छ । यो वडामा एमालेका भरतलाल श्रेष्ठ ६२२ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका किरण श्रेष्ठ ५९८ मतमा चित्त बुझाउन बाध्य भए ।

वडा नम्बर ७ को गणना जारी छ । जसमा काँग्रेसका विमल होडाले अग्रता कायम गरेका छन् भने काँग्रेसका कृष्णमणि भट्टराई प्रतिस्पर्धामा छन् । त्यस्तै वडानम्बर ८ को प्रारम्भिक नतिजा नै सार्वजनिक भएको छैन भने ३० नम्बर वडामा एमालेका उम्मेदवार कृष्णभक्त खड्गीभन्दा काँग्रेसका उम्मेदवार दलबहादुर कार्की अघि छन् ।