Banner News

मङ्कीपक्स नेपालमा फैलन सक्ने भन्दै सावधानी अपनाउन आग्रह



काठमाडौँ, ९ जेठ । मङ्कीपक्सको सङ्क्रमण फैलिनसक्ने भन्दै सरकारले विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले विश्वमा मङ्कीपक्सको सङ्क्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहेर स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको हो ।

मङ्कीपक्सको सङ्क्रमणबाट बच्न व्यक्तिगत सरसफाइ र क्वरेण्टीनमा बस्ने कुरालाई ध्यान दिनुपर्ने मन्त्रालयले जनाएको छ । विदेशबाट आउने नेपाली नागरिक र विदेशी नागरिकले कम्तीमा दुई हप्ता अनिवार्य क्वरेण्टीनमा बस्ने, सकेसम्म बाहिरी कुनै पनि सामानहरु नछुने र छोइहाले साबुनपानीले तत्काल सफा गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार मङ्की पक्सको संक्रमणबाट बच्न सरकारले आवश्यक कदम चालिसकेको र सीमा नाकाहरुमा निगरानी बढाएको छ । उनले विश्व स्वास्थ्य संगठनको केन्द्रीय, क्षेत्रीय र नेपालमा भएको कार्यालयसँग नियमित सम्पर्कमा रहेर प्राप्त प्राविधिक सुझावका आधारमा आवश्यक निर्णय गर्दै जाने पनि बताए ।