Banner News

मन्त्री बडू संसदमा बोल्दा एमाले सांसदद्वारा विरोध



काठमाडौँ, १३ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले बिहीबार संसदमा बोल्दै नेपाल आयल निगमलाई निजीकरण गर्न लागेको भनाई आधारहीन र राजनीतिक पूर्वाग्रहका आधारमा रहेको बताएपछि एमालेका सांसदहरुले नियमापत्ति जनाएका छन् ।

मन्त्री बडू बोल्दै गर्दा एमाले सांसद खगराज अधिकारीले नियमापत्ति गर्दै मन्त्री बडूका अभिव्यक्ति फिर्ता लिनुपर्ने बताएका थिए । त्यसपछि एमालेका सांसदहरु उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख अग्नि सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न दिएका थिए । भट्टराईले पनि मन्त्री बडूले बोलेको शव्दहरु रेकर्डबाट हटाउन र आयल निगमको घाटाबारे छानविन समिति बनाउनुपर्ने बताए ।

सभामुख सापकोटाले रेकर्ड हेरेर आवश्यक प्रक्रिया पुरा गर्ने बताएपनि विरोध नहटेपछि १५ मिनेटको लगी संसद स्थगित गरेका छन ।