काठमाडौँ, १४ जेठ । प्रतिनिधिसभाबाट सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबारको संसद् बैठकबाट आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । त्यसमाथि संसद्मा तीन दिन छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेस गरेका थिए ।
शनिबारै सभामुखले निर्णयार्थ पेस गर्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि सांसद्ले राखेको जिज्ञासाको जवाफ दिएका थिए । नीति तथा कार्यक्रम पारित भएसँगै बजेट ल्याउने बाटो खुलेको छ । अर्थमन्त्री जनार्दन शर्माले भोलि अपराह्न ४ बजे बस्ने संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।










प्रतिक्रिया दिनुहोस्