राजनीति

स्वास्थ्य क्षेत्रको सूचकमा सुधार



काठमाडौँ, १५ जेठ । नेपालमा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेखनीय सुधार भएको पाइएको छ । आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणमा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेख सुधार हुँदै गएको पाइएको हो ।

दिगो विकासको लक्ष्यानुसार सन् २०३० मा प्रजननदर २.१ पुर्‍याउने लक्ष्य भए पनि अहिले नै २ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा जनाइएको छ । यस्तै, पाँच वर्षमुनिका बाल मृत्युदर र नवजात शिशु मृत्युदर पनि दिगो विकास लक्ष्यानुसार घटाउन सफल भएको देखिएको छ । मातृस्वास्थ्यसम्बन्धी अरू सूचकको चालु आवको फागुनसम्मको उपलब्धिको अनुपातले यस आवको अन्त्यसम्म दिगो विकास लक्ष्यले तोकेको लक्ष्य पूरा हुने प्रारम्भिक अनुमान देखिएको सर्वेक्षणमा जनाइएको छ ।

पूर्ण रूपमा सबै प्रकारका खोप लगाएका बालबालिका ५९.७ प्रतिशत रहेका छन् । यस्तै, स्वास्थ्य संस्थामा प्रसूति गराउने गर्भवती महिला ५२.७ प्रतिशत रहेको छ । नवजात शिशु मृत्युदर (प्रतिएक हजार जीवित जन्ममा, जन्मेको २८ दिनभित्र) १६, शिशु मत्युदर (प्रतिएक हजार जीवित जन्ममा, जन्मेको एक वर्षभित्र)मा २५, पाँच वर्षमुनिको बाल मृत्युदर (प्रतिएक हजारमा) २८ जना तथा कम्तीमा चारपटक गर्भ जाँच गराउने महिला ५० प्रतिशत, दक्ष प्रसूतिकर्मीबाट प्रसूति गराउने गर्भवती महिला ४९.५ प्रतिशत रहेका छन् ।

चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनमा स्वास्थ्य तथा सामाजिक क्षेत्रको योगदान १.७९ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । आव २०७७/७८ को तुलनामा यस आवमा स्वास्थ्य क्षेत्रको कुल मूल्य अभिवृद्धि ६.९१ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको सर्वेक्षणमा जनाइएको छ । रासस