काठमाडौँ, १७ जेठ । अर्थमन्त्री जनार्दन शर्माले सरकारले आर्थिक वर्ष २०७९/८० को लागि ल्याएको बजेट चुनाव लक्षित नभएको दावी गर्दै अब कार्यान्वयवनमा जाने बताउनुभएको छ ।
बजेटबारे थप स्पष्ट पार्न सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै उहाँले चुनाव लक्षित बजेट ल्याएको, स्रोत जुटाउन मुश्किल हुने र खर्च गर्न कठिन हुने भनी आलोचना भइरहेका बेला अर्थमन्त्री शर्माले बजेट खर्च हुने दाबी गर्नुभयो । सरकारले यस वर्ष तुलनात्मक रुपमा वितरणमुखी बजेट ल्याएको छ । ६८ वर्षमै वृद्धभत्ता दिने, कर्मचारीको तलब बढाउने, किसान पेन्सन, हरेक परिवारलाई इन्डक्सन चुलो वितरणजस्ता कार्यक्रम चुनाव लक्षित भएको आलोचकहरुले बताएका छन् । तर अर्थमन्त्री शर्मा बजेटलाई चुनाव लक्षित नभएको जिकिर गर्नुभयो । अर्थमन्त्री शर्माले बजेट कार्यान्वयनमा संयुक्त प्रतिवद्धताको आवश्यकता औल्याउनुभयो ।
उहाँले भन्नुभयो, ‘नयाँ कार्यक्रम ल्याएका छैनौं, विगतदेखिका कार्यक्रमलाई निरन्तरता दिँदा चुनावी कार्यक्रम भन्ने हो भने ४/५ वर्षदेखि नै बजेट चुनाव लक्षित आइरहेको छ भन्नु पर्योन नि । उत्पादन बढाउँछु भन्नु, आत्मनिर्भर बनौं भन्नु चुनावी कुरा हो र रु युवालाई तालिम दिने चुनावी कुरा होइन । कर्मचारीको तलव ऐन अनुसार बढेको हो, किसान पेन्सको विषय विगतकै निरन्तरता हो । बजेट मेरो गाउँको बाटोमा रकम पर्योी कि परेन भन्ने विषय मात्र होइन, बजेट जनताको हातमुख जोड्ने, राष्ट्रलाई समृद्ध बनाउने पनि हो ।’
उहाँका अनुसार बजेटको आकार चालु आर्थिक वर्षको भन्दा ९.८६ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षमा अघिल्लो वर्ष भन्दा १० प्रतिशत ठूलो बजेट ल्याइएको थियो । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटको आकार कुल गार्हस्थ्य उत्पादनको ३७ प्रतिशत हाराहारी हो ।










प्रतिक्रिया दिनुहोस्