काठमाडौँ, १७ जेठ । विकास तथा प्रविधि समितिले गुरुयोजना बनाएर मात्रै रेल पूर्वाधार आयोजना अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।
आज सिंहदरबारमा बसेको समितिको बैठकले रेल पूर्वाधार आयोजनाको सुरुवात भइसकेको अवस्थामा हालसम्म गुरुयोजना नबनाइ काम अघि बढाइएकोमा ध्यानाकर्षण भएको समेत जनाएको छ ।
राष्ट्रिय महत्वका क्षेत्रमा अल्पकालीन, मध्यकालीन र दिर्घकालीन योजनाको खाका बनाई प्राथमिकताका आधारमा गुणस्तरीय रूपमा आयोजना अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागलाई निर्देशन दिइएको समिति सभापति कल्याणी खड्काले जानकारी दिए ।
उनले जयनगर जनकपुर कुर्था बर्दिबास हुँदै निगजढसम्मको निर्माणाधीन रेल पूर्वाधारको प्रारम्भिक ट्रयाकमा गुणस्तरको कमी देखिएको भन्दै उपयुक्त समयमा स्थलगत अनुगमन गरिने बताए । बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले गुरुयोजना नबनाएर आयोजना सुरु गर्दा समस्या देखिएको बताइन । बर्दिबास हुँदै निगजढसम्मको निर्माणाधीन रेल सरकारको प्राथमिकतामा रहेको र काठमाडौं रक्सौल रेलमार्गमा पनि थप अध्ययन भइरहेको उनले जानकारी दिइन् । उनले काँकडभित्तामा रेलमार्ग निर्माणमा भने केही समस्या देखिनसक्ने बताइन् ।
प्रतिक्रिया दिनुहोस्