काठमाडौँ, १ असार । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सन्तुलित ढंगले विकास खर्च गर्न आयोजना छनोटको मोडालिटी परिवर्तन गर्नुपर्ने बताएकी छन् ।
आज प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा सांसदहरुको जवाफ दिँदै मन्त्री झाँक्रीले आयोजना छनोटको मोडालिटी परिवर्तन नगर्ने हो भने प्रत्येक महिना १० प्रतिशत विकासमा खर्च गर्नुपर्ने व्यवस्था लागू नहुने बताइन् ।
उनले भनिन्, ‘जव हामीले खल्तीबाट आएका निवेदनका आधारमा आयोजना छान्छौ, त्यसो गर्दा प्रत्येक महिना १० प्रतिशत रकम खर्च होइन एकै पटक असार महिनामा मात्रै खर्च हुन्छ ।’
मन्त्रालयले गएको मंसिरबाट आयोजना छनोटको मापदण्ड बनाएको जानकारी दिदै उनले भनिन्, ‘हामीले गत मंसिरबाट आयोजना छनोटको मापदण्ड पनि बनाएका थियौ, बस्ती र आवास कार्यक्रमलाई व्यवस्थित बनाएका छौ । सघन सहरी कार्यक्रममा परिवर्तन ल्याउन खोजेका छौ ।’
त्यस्तै मन्त्री झाँक्रीले उपत्यकाको फोहोर विसर्जन केन्द्र सिसडोलमा १० शैयाको अस्पताल बनाउँने प्रक्रिया अघि बढेको बताएकी छिन् ।
उनले भनिन्,‘स्वास्थ्य मन्त्रालयले अस्पताल बनाउनका लागि तयार पारेको मापदण्डका आधारमा १० बेडको अस्पताल यथाशीघ्र बनाउनका लागि १ महिनाभित्र अस्पताल कहाँ राख्नेबारेमा प्राविधिक अध्ययन प्रतिवेदन ल्याउनका लागि टोली बनाएका छौँ । स्वास्थ्य मन्त्रालय, महानगरपालिकाको स्वास्थ्य विभाग, सहरी विकास मन्त्रालय, धुनीबेंसी र ककनी पालिकाका प्रतिनिधिहरू राखिएको छ । त्यसकारण आजसम्म त्यहाँ डाक्टर रहेनन्, सिटामोल रहेन, तर पुलिस र गोली रह्यो भन्ने कथाको पनि हामी अन्त्य गर्न चाहन्छौँ ।’
उनले १७ बर्ष सिसडोलमा फोहोर खसाल्दा त्यहाँ कहालीलाग्दो अवस्थाहरु आएको, स्थानीयका समस्याहरु, त्यहाँको जनजीवन, कहालीलाग्दो दुर्दशा सिर्जना भएको बताइन । त्यसलाई सम्बोधन गर्न अहिले व्यवस्थित प्रयासहरु गरेको उनको भनाइ थियो । उनले ल्याण्डफिल साइट अत्यन्तै दुर्गन्धित भएकोले नाष्टले दिएको प्रतिवेदनका आधारमा जैविक वा अजैविक केमिकलद्धारा गन्धलाई हटाउने काम महानगरपालिकाले गर्नेगरी सम्झौता गरेको जानकारी दिइन् । यो स्थानीय तहको काम भएपनि शहरी विकास मन्त्रालयले यसको नेतृत्व लिएर काम गरिरहेको उनले बताइन् । मन्त्री झाँक्रीले बञ्चरेडाँडा ल्याण्डफिल साइट तयार भएको र फोहोर खसाल्न थालिसकेको बताइन् । उनले सिसडोलको पुनरावृत्ति नहुनेगरी बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न थालेको जानकारी गराइन् । साउन १ गतेदेखि देशैभर फोहोर वर्गिकरण गरेर ल्याण्डफिल साइटमा थोरै फोहोर लैजाने अवस्था सिर्जना हुने उनको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्