राजनीति

सांसद बस्नेतद्वारा खानेपानी ट्याङ्कीको शिलान्यास



भक्तपुर, ५ असार । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अनन्त लिङग कैलाश डाँडामा खानेपानी ट्याङ्कीको शिलान्यास गर्नुभएको छ ।

जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ४ मा बागमती प्रदेश परियोजना अन्तरगत विनियोजित रु १५ लाखको लागतमा निर्माण गर्नको लागि आज नेता बस्नेतले विधिवत रुपमा शिलान्यास गर्नुभयो । कार्यक्रममा बोल्दै सांसद बस्नेतले उक्त क्षेत्रमा पूर्वाधारका असंख्य कामहरु भएको उल्लेख गर्दै सडकको पूर्वाधार निर्माण पछि अन्य विकासका आयोजनाहरु घ्याम्पेडाँडा लगायतका जिल्लाका विभिन्न ठाउँहरुमा नाटकीय रुपमा प्रगति भएको बताउनुभयो । नगपालिका क्षेत्रका सडकका वारेमा अघिल्लो सकारले नै व्यवस्थापन गरेको बजेटले हाल निर्माणको अन्तिम चरणमा पुगेको जानकारी गराउँदै उहाँले अनन्त लिङ्गेश्वर क्षेत्रलाई पर्यटकीय क्षेत्रको विकास गर्ने कार्यहरु अगाडी बढिरहेको जानकारी गराउनुभयो ।

विकासका सन्दर्भमा भ्रम फिजाउन आवश्यक नभएको उल्लेख गर्दै उहाँले २० वटा भन्दा बढी डिपबोरिङका कामहरु भइरहेको बताउनुभयो । खानेपानीको लागि राजनीतिक आग्रह नराखी अगाडी बढ्न आग्रह गर्दै उहाँले अहिले निर्माणका क्रममा रहेका खानेपानीका आयोजनाको निर्माण सम्पन्न भएसँगै खानेपानीको समस्या समाधान हुने दावी गर्नुभयो । फुटट्रायल, भ्यू टावरलगायतका आयोजनाहरु निर्माण भइरहेको जानकारी गराउँदै उहाँले पर्यटकीय क्षेत्रको साथमा धार्मिक क्षेत्रको रुपमा समेत उक्त स्थानलाई विकास गर्न सकिने धारणा राख्नुभयो ।

सरकारले ७ वटा आयोजनामा करिव ३५ लाखमात्र बजेटको व्यवस्थापन गरेको उल्लेख गर्दै उहाँले उक्त बजेटले विकासलाई सम्पन्न गर्न नसकिने गुनासो गर्नुभयो । उक्त बजेटले सडकको रेखाङ्कन गर्न मात्र सकिने तथा अन्य सडक निर्माणका कुनै पनि काम गर्न नसकिने बताउनुभयो । नयाँ बजेट परेन भन्दा पनि अब बजेट विनियोजन नहुने तथा निर्माण क्षेत्रमा २५ प्रतिशत सम्म वृद्धि गरेकाले ठेगदारले बिचमा नै भाग्ने अवस्था आउन सक्ने बताउनुभयो ।

आफ्नो कार्यकालमा पूर्वाधारका अधिकाशं कामहरु गरेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि सरकार जुनसुकै पार्टीको आएपनि विकासमा राजनीति गर्नु नहुने बताउनुभयो । सरकारमा गएपनि नगए पनि एमालेको पहिलो दायित्व भनेको नै जनचाहना अनुसारको विकास गर्नु नै भएको उल्लेख गर्दै उहाँले विकास गर्ने कुरामा राजनीति आग्रहभन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिनुभयो । सडक काट्ने कार्य भइरहेकाले उक्त कार्यलार्य रोक्न सवै मिलेर अगाडी बढ्नुपर्नेमा जोड दिँदै उहाँले भक्तपुरको विकासको लागि थप बजेटको व्यवस्थापन गर्नमा एक ढिक्का भई लाग्नुपर्ने धारणा राख्नुभयो ।