राजनीति

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको नलिए आन्दोलनमा जान्छौंः उपमहासचिव ज्ञवाली



काठमाडौँ, ६ असार । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव एवम् सांसद प्रदीप ज्ञवालीले उपमहासचिव ज्ञवालीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको लागि आफूहरूले आवाज उठाएको भन्दै सरकारले गम्भीरतापूर्वक नलिए आन्दोलनमा जाने चेतावनी दिनुभएको छ ।

सोमबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उहाँले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर संसदको अपमान गरेको बताउनुभएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदबाट पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने वचन दिएको भए पनि सो वचन लत्याउँदै मूल्यवृद्धि गर्नुले संसदको समेत अपमान भएको उपमहासचिव ज्ञवालीको तर्क थियो । सरकारले पेट्रोलियम पदार्थमा फेरि पनि मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको भन्दै आपत्ति जनाउँदै उहाँले पेट्रोलियम पदार्थमा लाग्दै आएको केही कर हटाउन सके जनतालाई राहत हुने बताउनुभयो । आयल निगमको संस्थागत सुधार गरेर पनि पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिने विकल्प समेत प्रस्तुत गर्नुयभो ।

उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीले बजेट वक्तव्य पढ्दै गर्दा, यद्यपि उहाँले वक्तव्यमा लिखित रूपमा सम्मिलित गर्नुभएको थिएन। तर अन्तिममा उहाँले मौखिक रूपमा पेट्रोलियम पदार्थको मूल्य मैले समायोजन गर्छु, यसमा लगाइएको अतिरिक्त कर हटाउँछु भन्नुभएको थियो। संसदको स्पष्ट निर्देशन र सदन समक्ष अर्थमन्त्रीले बजेट वक्तव्य पेश गर्दा बोलेको कुरालाई समेत लत्याउँदै जुन ढंगको मूल्यवृद्धि भएको छ, यो जनताको ढाड सेक्ने कुरा त हुँदै हो। यो वास्तवमा संसदको पनि अपमान हो। त्यसैले हामीले त्यही गम्भीरताका साथ यो विषय उठाएका हौं। कमसेकम एउटा कर हट्दा पनि थोरै भए पनि राहत हुन्छ। आयल निगमको समग्र संस्थागत सुधार गर्ने हो भने मूल्य घटाउन सकिन्छ। यो काम नगरीकन सिधै बाहिरबाट समायोजन भएर आयो, त्यसको सिधै मार जनतालाई दिने खालको कुरा छ। यदि हामीले गम्भीरतापूर्वक उठाएको विषयलाई सुनिएन। तदनुरूप सरकारले जवाफ दिएन। जवाफ चित्त बुझ्दो भएन र ठोस रूपले कदम चलिएन भनिदेखि हामी त्योभन्दा अगाडि बढ्छौं।’