काठमाडौँ, १२ असार । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केही मन्त्रीहरूको राजीनामापत्र गोजीमा लिएर हिँडेको बताएका छन् ।
आज काठमाडौँमा अखिल नेपाल महिला संघको केन्द्र्रीय कमिटीको बैठकमा बोल्दै उनले छिट्टै पार्टीको निर्णय कार्यान्वयन हुने बताए ।“मन्त्रिपरिषद्को पुनर्गठन हुनेछ । छिटोभन्दा छिटो हुनेछ । आशा गरौँ, आजै हुनेछ । हाम्रो पार्टीको निर्णय लागु हुनेछ भन्ने आशा र विश्वास गर्दछु,” उनले भने ।
अध्यक्ष नेपालले पार्टीबाट सरकारमा गएका केही मन्त्रीहरूले दिएको राजीनामा गोजीमा बोकेर हिँडेको बताए । अरू मन्त्रीहरूको पनि राजीनामा आउने अपेक्षा गरे । “केही मन्त्रीहरूले मलाई राजीनामापत्र दिनुभएको छ । पार्टीले कहिले बाहिर ल्याउने हो त्यो ल्याइयोस् भन्नुभएको छ । त्यो म गोजीमा लिएर हिँडिरहेको छु,” उनले भने, “अरू मन्त्रीहरूले पनि राजीनामापत्र पठाउनुहुनेछ । राजीनामा पनि चाहिँदैन । पार्टीको निर्णय नै पर्याप्त छ । त्यो चाँडै लागु होस् ।”
उनले स्थानीय तहको निर्वाचनमा आफूहरूले आँकलन गरेअनुसारको मत ल्याउन नसकेको बताएका छन् । “अहिलेको निर्वाचनमा हामीले २८ प्रतिशत सिटमा मात्रै उमेदवारी दिएका थियौँ । २८ प्रतिशत उमेदवारी दिएका ठाउँबाट हामीले ९ लाख २७ हजार मत पाएका छौँ,” उनले भने, “कम्तिमा पनि यसको दोब्बर २० लाख भोट पाउन सक्ने रहेछौंँ । जबकि, सबै ठाउँमा संगठन पुर्याउन सकेका छैनौँ ।” मत बदर भएका कारण आफूहरूले तुल्सीपुर, इटहरी र काठमाडौंको उपमेयरमा हारेको बताए ।
उनले गठबन्धन दलका घटकहरूले शक्तिको अवमूल्यन गरेको आरोप लगाए । गठबन्धनबाट अपमान गरेको पनि बताए । गठबन्धनका नेताहरूले बेवास्ता भएको स्वीकार गरेको समेत उनको भनाइ छ । उनले चुनावमा आफूहरूबाट पनि कमजोरी भएको बताउँदै अबको निर्वाचनमा गठबन्धन भएन भने पनि सबै ठाउँमा उमेदवार बन्नेगरी तयारी गनुपर्ने उनको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्