समाचार

स्कुल बसले किच्दा एक विद्यार्थीको मृत्यु



मोरङ, १४ असार । जिल्लाको रङ्गेलीमा स्कुल बसले किचेर एक विद्यार्थीको मृत्यु भएको छ ।

रङ्गेली–७ स्थित माउण्ट मकालु इङ्ग्लिस बोर्डिङ स्कुलको को १ क ११३० नम्बरको बसले दिउँसो करिब साढे ३ बजेतिर सोही विद्यालयमा अध्ययनरत बालबालिकालाई किचेको थियो ।

स्कुल छुट्टी भएपछि विद्यार्थीहरु बाहिर निस्कने क्रममा सोही स्कुलको बस अनियन्त्रित भएर किच्दा रङ्गेली–७ का महादेव मण्डलका ४ वर्षीय छोरा रिपिक मण्डलको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी रंगेली–६ चोप्राहाका नरेश मण्डलकी पाँच वर्षीया छोरी सोनमकुमारी मण्डल गम्भीर घाइते भएकी छिन् ।

सोनामको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । विद्यालयको लापरवाहीका कारण विद्यार्थीको मृत्यु भएको भन्दै स्थानीय आक्रोशित बनेका छन् । आक्रोशित स्थानीयले स्कुलविरुद्ध नाराबाजी गर्दै सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।