काठमाडौँ, २१ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कलाकार तथा साहित्यकारहरू राष्ट्रको एक महत्त्वपूर्ण अंग रहेको बताएका छन् ।
आज काठमाडौँमा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको प्रतिष्ठानको १२औं प्राज्ञ सभा बैठक समुद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले देशमा लोकतन्त्रको स्थापना तथा संरक्षणमा कलाकार तथा साहित्यकारहरूको भूमिकाबारे प्रस्ट्याएका हुन् ।
उनले भने, “संगीत–नाट्य प्रज्ञा–प्रतिष्ठान भनेको कला र कलाकारहरूको संस्था हो । सामान्यतया कलाकारलाई ‘राष्ट्रको गहना’ भन्ने गरिन्छ । तर, हाम्रो देशमा लोकतन्त्रको स्थापनामा तथा संरक्षणमा कलाकार-साहित्यकारहरूले निर्वाह गरेको भूमिकालाई हेर्दा कलाकार-साहित्यकार भनेका राष्ट्रको एक महत्त्वपूर्ण अंगसमेत हुन् भन्ने प्रमाणित हुन्छ ।”
प्रधानमन्त्री देउवाले देशको लोकतन्त्र स्थापन र संरक्षणमा टेवा पुर्याउँदै आइरहेका कलाकारहरूसँग सहकार्य र समन्वय गर्दै राष्ट्रिय हितमा तिनको प्रयोग र परिचालन गर्ने सन्दर्भमा यस प्रज्ञा–प्रतिष्ठानले खेल्दै आएको भूमिकाप्रति धन्यवाद व्यक्त गरे । यसका साथै प्रतिष्ठानले नाट्य, नृत्य, संगीतका माध्यमबाट राष्ट्रोत्थानका निमित्त खेल्ने हरेक भूमिकामा नेपाल सरकाको सधैँ साथ र सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरे ।










प्रतिक्रिया दिनुहोस्