राजनीति

एमालेसँग सहकार्यको ढोका खुलेकै छैन: अध्यक्ष नेपाल



बुटवल, २५ असार । नेकपा (एकीकृत समावादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले आफ्नो दलसँग सहकार्यको ढोका खोल्दै नखोलेको बताउनुभएको छ ।

समाजवादी प्रेस संगठनले बुटवलमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष नेपालले आफ्नो पार्टी गठनपछि एमालेले बन्द गरेको सहकार्यको ढोका अझै नखुलेको उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले आगामी चुनावमा पाँच दलीय गठबन्धन कायमै रहने तर पार्टी गठबन्धनको मात्रै भर नपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘एमालेले सहकार्यको ढोका खोलेकै छैन,अनि कहांबाट बन्द हुनु ? हामीले गरेको विद्रोहको औचित्य पुष्टि भएको छ । हामीले उठाएका इस्युहरू ज्युंदै छन् ।’ नेपाल कुनै पनि शक्ति राष्ट्रसंगको सैन्य गठबन्धनमा सामेल हुन नहुनेमा जोड दिंदै अध्यक्ष नेपालले कुनै पनि सम्झौतामा सहमति जनाउनुअघि सरकार र दलहरु गहिरो अध्ययन गरेर मात्र निर्णयमा पुग्नुपर्नेमा जोड दिनुभयो ।

अमेरिकी सहयोग परियोजना एमसीसीको ब्याख्यात्मक घोषणाको कार्यान्वयनबारे सरकारले फलोअप गर्नुपर्ने उल्लेख गर्दै उहाँले तत्कालीन नेकपा ब्युझाउन सकिन्छ कि भनेर पनि सचिवालयका ९ जना मध्ये ५ जनाको बैठक बसेर छलफल अघि बढाएको समेत बताउनुभाये । २०६३ सालमा आफूले गिरिजाप्रसादलाई प्रधानमन्त्री बनाएको र २०६६ मा उनले आफूलाई प्रधानमन्त्री बनाएको स्मरण गर्दै नेपालले वामपन्थी दलहरू मिल्दा कांग्रेस आत्तिन नहुने बताउनुभयो ।