काठमाडौँ, २८ असार । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले राजनीतिक दल र नेताहरुको कमजोरीका कारण जनतामा पार्टीप्रति वितृष्णा बढेको स्वीकार गर्नुभएको छ ।
‘मैले नेपाल कम्युनिष्ट पार्टीलाई फुट्नबाट जोगाउन सकिनँ, नेतृत्वमा रहेको व्यक्तिका रुपमा यस सम्बन्धमा मबाट पनि कमजोरी भयो होला’ आफूलाई त्रुटिबिहीन मानवका रुपमा प्रस्तुत गर्ने र कमजोरी स्वीकार नगर्ने नेताका रुपमा चिनिएका अध्यक्ष ओलीले भन्नुभयो, ‘असल नियतले काम गर्दागर्दै, विशाल र एकीकृत नेकपा बनाउने सफलता हासिल गर्दागर्दै पनि त्यो एकता जोगाउन नसकेको म स्वीकार गर्छु ।’
एमालेकै केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सोमबार राजधानीमा आयोजना गरेको सम्पादकहरुसँगको अन्तक्रियामा ओलीले नेपाल समाचारपत्रको प्रश्नको जवाफमा सम्भवतः पहिलो पटक आफ्नो भागको कमजोरी स्वीकार गर्नुभएको थियो ।
उहाँले दलहरुप्रति जनतामा वितृष्णा बढेको स्वीकार मात्र गर्नुभएन, यसको कारण चिरफार गर्ने प्रयास पनि गर्नुभयो, ‘दलहरुप्रति वितृष्णा फैलाउने काम आजको गठबन्धन सरकार र यसमा रहेका पार्टीहरुले सर्वाधिक गरेका छन्, यत्रतत्र भ्रष्ट्राचार छ, महँगी बढेको छ, जनताको ढाड सेक्ने काम भएको छ, अनाडीहरुले गलत पात्रको प्रवेश गराएर बजेट बनाएको र एकपछि अर्काे देशघाती काम गरेका कारण दलहरुप्रति वितृष्ण बढ्ने नै भयो ।’ यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्