काठमाडौँ, ३१ असार । विश्व बैंकले नेपाललाई १२ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको छ ।
नेपालको हरित, जलवायु उत्थान तथा समावेशी विकासका लागि बैंकले एक सय मिलियन अमेरिकी डलर अर्थात् १२ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको हो । विश्व बैंकको कार्यकारी निर्देशक तथा माल्दिभ्स, नेपाल र श्रीलंकाका प्रतिनिधि फारिस हदाद जेर्भोसले शुक्रबार उक्त सहयोग स्वीकृत गरेका हुन् ।
विश्व बैंकका प्रतिनिधि फारिस हदाद–जेर्भोसले भने, ‘कोभिड–१९ को महामारीको परिप्रेक्षमा, हरियाली थप समावेशी र थप लचिलो विकास मार्गलाई अगाडि बढाउन विश्व बैंकले नेपालमा आफ्नो कार्यक्रमलाई केन्द्रित गरेको छ । यस अपरेशन मार्फत, हामी पानी, भूमि प्रयोग, कृषि, वन, शहरी, फोहोर, र प्रदूषण लगायतका क्षेत्रहरूमा सरकारको मुख्य नीतिगत कार्यहरूलाई समर्थन गर्दैछौं ।’
यस कार्यक्रममार्फत प्राकृतिक रुपमा पूँजीको दिगो र उत्पादनमुलक क्षेत्रमा केन्द्रित हुँदै सहरी र ग्रामीण पूर्वाधार, मानव पूँजी, र जलवायु र वातावरणीय जोखिमहरूको निराकरण गरिने अपेक्षा छ । केही दिन अघि मात्र विश्व बैंकले नेपालको पानी तथा सरसफाइका लागि भन्दै १० अर्ब रुपैयाँ सहयोग गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्