राजनीति

सत्ता गठबन्धनले भारतीय चलखेल बढायो : महासचिव पोखरेल



काठमाडौँ, १ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनले भारतीय चलखेललाई निम्ताएको आरोप लगाएका छन् ।

पोखरामा आज पत्रकारहरूसँग कुरा गर्दै उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसकी नेतृ आरजु राणाको भारत भ्रमणकै उदाहरणको रुपमा प्रस्तुत गरे । उनले भने, ‘गठबन्धनका दुई प्रमुख घटकका नेताहरु अहिले दिल्ली दौडाहामा हुनुहुन्छ, नेपालीहरुको बीचमा नेपालको राजनीतिको मान्यतालाई खण्डित गर्ने काम गठबन्धनका नेताहरुबाट भएको छ ।’ ‘नेपालको राजनीतिबारे बाहिर बसेर छलफल गर्ने स्थिति उत्पन्न भाछ भनेपछि राष्ट्रिय हित र स्वाधिनताको प्रश्नमा योभन्दा अर्को लाचारी के हुनसक्छ ?’

नेता पोखरेलले आन्तरिक मामिलामा सत्ता गठबन्धनले भारतीय हस्तक्षेप निम्त्याएको आरोप लगाए । उनले भने, ‘पछिल्लो समय अर्थमन्त्रीले बजेट निर्माणका सन्दर्भमा भारतीय नागरिकलाई राजश्वका दर हेरफेर गर्ने सल्लाहकारको रुपमा मन्त्रालयमा सहभागी गराइएको प्रश्न उठिसकेपछि,’ ‘यो यति गम्भीर विषय हो कि कुनै बेला २००७ साल पछाडि नेपालको क्याबिनेटमा भारतीय कूटनीतिज्ञ राख्ने चलन थियो भन्ने कुरा इतिहासमा पढ्ने गर्छौं, गठबन्धनले मुलुकलाई त्यही बाटोमा लान खोज्दै छ ।’

उनले भने, ‘अर्थतन्त्र जस्तो संवेदनशील विषयमा अवान्छित व्यक्तिहरुको सहभागीतामा बजेट निर्माण गर्ने खालको कामले समग्र राष्ट्रको शीर झुकेको छ भन्ने मलाई लाग्छ, त्यसैको श्रृंखलाको रुपमा आज सत्ता गठबन्धन फेरि दिल्ली पुग्या छ ।’

उनले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि अवाञ्छित आरोप लगाएर हटाउन खोजेको आरोप लगाए । उनले भने, ‘अर्थमन्त्रीले प्रतिस्थापन विधेयकमार्फत स्रोत नखोज्ने गरी लगानी गर्न दिने नीति ल्याउनुभयो । त्यसपछि हुन्डी र विभिन्न माध्यमबाट पैसा नेपाल आयो । त्यही कालो धनलाई सेतो बनाउन गभर्नरले रोक्न लाग्दा उहाँलाई हटाउने प्रयास भएको हो ।’ उनले गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रमाथि हुन लागेको गम्भीर अपराधविरुद्ध डटेर सामना गरेको भन्दै प्रशंसा गरे ।