काठमाडौँ, २ साउन । नेकपा (एमाले)ले आसन्न निर्वाचन तयारीका लागि प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।
निर्वाचनलाई लक्षित गर्दै एमालेले प्रदेश हुँदै जिल्ला तहसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न थालेको हो । मधेश प्रदेशको जनकपुरमा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सोमबार प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सुरुवात गर्नुभएको छ । मंगलबार प्रदेश १ को विराटनगर, बुधबार बागमतीको काठमाडौं, साउन ८ गते गण्डकीको पोखरामा प्रदेशस्तरीय प्रशिक्षण हुने छ ।
एमालेले भौतिक उपस्थिति र भर्चुअल दुबै तरिकाबाट प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । संयोजनका लागि एमालेले प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, बागमतीमा उपाध्यक्ष विष्णु पौडेल, लुम्बिनीमा उपाध्यक्ष सुवास नेम्वाङ, कर्णालीमा उपाध्यक्ष रामबहादुर थापा र सुदूरपश्चिममा उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रशिक्षण कार्यक्रमको संयोजक तोकिएको छ ।
एमालेले स्थानीय तह निर्वाचनको परिणामपछि प्रतिरक्षात्मक मनोविज्ञान रहेका कार्यकर्तालाई त्यसबाट बाहिर ल्याउन देशव्यापी प्रशिक्षण सञ्चालन गर्ने निर्णय सचिवालय बैठकले गरेको थियो । प्रशिक्षणको विषयवस्तु र विधिको संयोजन भने स्कुल विभागले गरेको एमालेले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्