ललितपुर, ९ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्रलाई मन्दीबाट बचाउन आधारभूत खाद्यवस्तुको उत्पादनमा आत्मनिर्भर हुनुपर्ने बताउनुभएको छ । खाद्य उत्पादनमा आत्मनिर्भर हुन सकियो भने बेला–बेलामा दुनियाँमा आउने आर्थिक मन्दीले कुनै असर नगर्ने पनि अध्यक्ष ओलीको भनाई छ ।
नेकपा एमाले कृषि तथा पशुपंक्षी विकास विभागको बैठकलाई निर्देशनात्मक सम्बोधन गर्दै अध्यक्षले भन्नुभयो, ‘नीति बनाउँदा कृषिमा क्रान्ति ल्याउने योजनाका साथ जानुपर्छ । हाम्रो कृषि नीति खाद्यान्नमा आत्मनिर्भर हुने र उच्च मूल्य दिने कृषि उत्पादनमा ध्यान दिने हुनुपर्छ ।’ अध्यक्ष ओलीले नीति निर्माण गर्दा गहन अध्ययन, छलफल र बहस चलाउनु पर्ने आवश्यकता पनि औल्याउनु भयो । ‘एमालेले बनाउने नीति पार्टीको मात्र नभई त्यसले राष्ट्रकै नीतिलाई मार्गदर्शन गर्ने भएकाले नीति निर्माण गर्दा गहन अध्ययन, छलफल र बहस चलाई बनाउनुुपर्छ,’ उहाँको भनाई थियो ।
कृषि प्रधान देश नेपालमा ६० प्रतिशत भन्दा बढी जनता कृषिमा निर्भर रहेको तर राष्ट्रिय उत्पादनमा यसको योगदान कम रहेको चर्चा गर्दै अध्यक्ष ओलीले उत्पादन बृद्धिमा जोड दिए पनि राष्ट्रिय अर्थतन्त्रमा भने कृषि क्षेत्रको योगदान कम र अन्य क्षेत्रको बढी हुनुपर्छ भन्नुभयो ।ओलीले थप्नुभयो, ‘कृषिलाई आधुनिकीकरण, व्यावसायीकरण गरी पहिले खाद्यवस्तुमा आत्मनिर्भर बनौं, कमसेकम चामल, गहुँ, पीठो आयात नगर्ने अवस्थामा पुगौं, त्यति गर्न सक्यौं भने व्यापार असन्तुलन, व्यापारघाटा कम गर्न सकिन्छ, विदेशी मुद्रा संचितीमा सहयोग पुुग्छ । त्यसपछि निर्याततर्फ सोचौंला ।’
कृषिको आधुनिकीकरण गर्दा मेशीन र औजारको मात्र भर परी जनशक्ति परिचालनलाई छोड्न नहुने अध्यक्ष ओलीको भनाइ थियो । ‘मेशिनले कुनै पनि बेला धोका दिनसक्छ । त्यसकारण जनशक्ति परिचालनलाई पनि सँगसँगै लैजानुपर्छ । हामीकहाँ ६० प्रतिशत काम गरिरहेको जनशक्ति र ४० प्रतिशत युवा जनशक्ति रहेकाले उत्पादनका लागि जनशक्तिको अभाव छैन । मामको लागि कामको खोजीमा खाडी मुलुक जाने कुरालाई हतोत्साहित गर्नुपर्छ । कृषिसँगै हरेक क्षेत्रमा दुनियाँसँग प्रतिस्पर्धा गर्नसक्ने योग्य जनशक्ति तयार गर्नुपर्छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।










प्रतिक्रिया दिनुहोस्