काठमाडौँ, १३ साउन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले एसपीपी पास गराउन अमेरिकाले नेपाललाई कुनै दबाब नदिएको बताउनुभएको छ ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले विदेशी कूटनीतिज्ञहरुको भ्रमण हुनुलाई स्वभाविक प्रक्रियाको रुपमा लिन आग्रह गर्नुभयो । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूको दोस्रो पटकको नेपाल भ्रमणबारे सञ्चारकर्मीहरुको प्रश्नको उत्तर दिँदै उहाँले विदेशी कुटनीतिज्ञहरु आउँदा शंका गर्ने नभइ भ्रमणलाई देशको सुशासन, समृद्धि र विकाससँग जोड्ने कुरामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले गठबन्धन आगामी निर्वाचनसम्म नै रहने दाबी गर्दै तत्काल एमालेसँग गठबन्धन गरेर चुनावमा जाने कुनै योजना नरहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले केही समयअघि नै एसपीपीको बारेमा जानकारी गराएका छौँ । निर्णय गरिसकेका छौँ । परराष्ट्र मन्त्रालयमा गइसकेको छ । मन्त्रालयले अमेरिकालाई पठाउँछ । हामीले भ्रमण हुने बित्तिकै शंका गर्नुपर्छ रु के गर्न लाग्यो भन्ने सोच्नुहुँदैन । कुनै देशको कुटनीतिज्ञ आउँदा हामीले सम्मान नै गर्नुपर्छ । हामीले भ्रमणलाई कसरी हाम्रो देशको सुशासन, समृद्धि र विकाससँग जोड्ने भन्ने कुरामा सोच्नुपर्छ । एसपीपी पास गर्न अमेरिकाले कुनै दबाब दिएको छैन । गठबन्धन आगामी निर्वाचनसम्म नै जान्छ । एमालेसँग गठबन्धन गरेर चुनावमा जाने भन्ने छैन । हामी गठबन्धनमै जोड दिने पक्षमा छौं ।’










प्रतिक्रिया दिनुहोस्