काठमाडौँ, १४ साउन । परराष्ट्र मन्त्रालयले अमेरिकाबाट प्राप्त सहयोगमा निरन्तरताको अपेक्षासहित अमेरिकी साझेदारी कार्यक्रम (एसपिपी) बाट बाहिरिएको जानकारीसहित औपचारिक पत्र काठमाडौंस्थित अमेरिकी दूतावासलाई पठाएको छ ।
नेपाल सन् २०१९ मा एसपिपीमा सहभागी भएको तथ्य सार्वजनिक भएसँगै चौतर्फी विरोध भएको र मन्त्रिपरिषद्को गत असार ६ मा बसेको बैठकले एसपिपीबाट बाहिरिने निर्णय गरेको थियो । त्यसको करिब एक महिनापछि परराष्ट्र मन्त्रालयले साउन ९ गते अमेरिकालाई पत्र पठाएको हो । तालुकवाला परराष्ट्र मन्त्रालयले एसपिपीबारेमा अमेरिकालाई औपचारिक पत्र लेख्नुपूर्व रक्षा मन्त्रालय र नेपाली सेनाको अनुमति पर्खिरहेका कारण उक्त प्रक्रियामा केही समय लागेको थियो ।
औपचारिक रूपमा पत्र पठाउन ढिलाइ भइरहेको विषयमा प्रश्न उठेपछि सरकार एसपिपीसम्बन्धी पत्र पठाउन दबाबमा परेको थियो । परराष्ट्रमन्त्री नारायण खड्काले मन्त्रालयले एसपिपीबाट बाहिरिने निर्णयसहितको पत्र अमेरिकी दूतावासलाई पठाइसकेको जानकारी शुक्रबार बसेको संसद् बैठकमा गराएका हुन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस्