Banner News

साउनमा १ अर्ब ८३ करोडको बिजुली भारत निर्यात



काठमाडौँ, ५ भदौ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा झण्डै २ अर्ब रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार चालु आवको साउन महिनामा १ अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत निर्यात गरेको हो ।

प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत साउनमा भारततर्फ निर्यात गरेको हो । विद्युत निर्यातबाट साउनमा औसतमा दैनिक ५ करोड ९३ लाख रुपैयाँ कमाउन प्राधिकरण सफल भएको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो ।

योसँगै वर्षायाममा देशभित्रको माग भन्दा बढी उत्पादन गर्न सकिने अवस्था आएकोले भारतीय बजारमा प्रतिस्पर्धामार्फत विद्युत बिक्री गर्न सफल भएको प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘विद्युत निर्यात वृद्धि हुँदा प्राधिकरणको आर्थिक अवस्थामा सुधार आउनुका साथै हाम्रो देशको विदेशी मुद्रा सञ्चितीमा वृद्धि भई राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुगेको छ । दुई मुलुक बीचको व्यापार घाटालाई समेत केही कम गर्न सहयोग भएको छ’, कार्यकारी निर्देशक घिसिङले भने ।