Banner News

वालुवाटारमा देउवा–ओलीबीच के –के विषयमा भयो कुराकानी



काठमाडौँ, ८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । । बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले चुनावको वातावरणलाई लिएर शंका नगर्न आग्रह गर्दै निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।

एमाले अध्यक्ष ओलीले निर्वाचन निष्पक्ष, धाँधलीरहित र विश्वसनीय हुनु पर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । भेटमा एमाले अध्यक्ष ओलीले सरकारले संसद्‌मा अघि बढाएको नागरिकता विधेयक, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा समेत धारणा राख्नुभएको थियो । त्यस्तै, बजारमा बढ्दो महँगी नियन्त्रणमा समेत सरकारले भूमिका खेल्न नसकेको भन्दै ध्यानाकर्षण गराउनुभएको थियो । प्रधानमन्त्री देउवाले ती विषय सत्ता गठबन्धनमा समेत राख्ने भन्दै सरकारले गम्भीर रुपमा लिएर अघि बढ्ने बताउनुभएको छ ।

अध्यक्ष ओलीले यीबाहेक अहिलेको सत्ता गठबन्धनबारे पनि देउवासँग कुरा गर्नुभएको थियो गठबन्धनले निषेधको राजनीति अघि बढाएको उहाँको भनाइ थियो। ‘लोकतन्त्रमा सत्ता पक्ष र प्रतिपक्ष हुन्छन्। उनीहरूबीच प्रतिस्पर्धा हुन्छ। तर एमालेलाई निषेध गर्नका निम्ति सत्ता गठबन्धन ७ दलीय पुग्यो। अब ८,९, १० कति पुर्‍याउनुहुन्छ रु’ ओलीको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एमाले उपाध्यक्ष सुवास नेम्वाङले भन्नुभयो ।

अध्यक्ष ओलीले नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक दायरा अनुसार काम गर्दा सत्ता गठबन्धनले राष्ट्रपतिलाई चुनौती दिएर गैरजिम्मेवार चरित्र देखाएको पनि बताउनुभयो । ‘राष्ट्रपतिले संवैधानिक दायराभित्रै रहेर नागरिकता विधेयकलाई पुनर्विचार गरिनुपर्छ भन्नुभएको हो। तपाईंहरूले गठबन्धनको बैठक नै राखेर कमा, फुलस्टप पनि परिवर्तन नगर्ने निर्णय गर्नुभयो। यो जिम्मेवारपूर्ण काम भएन,’ ओलीको भनाइ थियो। देउवा–ओलीबीच करिब दुई घण्टा छलफल भएको छ ।

भेटमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ र विष्णु पौडेल तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेत सहभागी हुनुहुन्थ्यो । सरकारले चुनावको मिति घोषणा गर्नेबेला परामर्श नलिएको गुनासो गर्दै आएको एमालेसँग प्रधानमन्त्री देउवाले मिति नजिकिँदै जाँदा त्यसबारे छलफल गरेका हुन् । सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटको निष्कर्ष ननिस्किएका बेला देउवा९ओलीबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । गठबन्धनको सिट बाँडफाँटसम्बन्धी बैठक बुधबारै साँझ ५ बजे पुनः बस्दैछ । देउवाको निमन्त्रणामा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुग्नुभएको हो । करिब ६ महिनापछि देउवा–ओली भेटवार्ता भएको हो ।