काठमाडौँ, १४ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका तीन जनाले दाबी गरेका छन् ।
अघिल्लोपटक ओलीसँग पराजित खगेन्द्र अधिकारी, नेविसंघका पूर्व उपाध्यक्ष मेदनी सिटौला र विश्वदीप लिङ्देनले झापा–५ मा दाबी गरेका छन् । झापा–५ मा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाको वडा नं १ देखि ८ सम्म, गौरीगञ्जको ३ देखि ६ वडा पर्छ । कुल २९ वडा रहेको झापा–५ मा स्थानीय तहको निर्वाचनमा एमालेले १८ वटा वडामा जितेको छ । सत्तारुढ गठबन्धनको समर्थन पाएका राप्रपा उम्मेदवार राम थापा मेयरमा निर्वाचित भएका छन् । कमल गाउँपालिकामा कांग्रेसले जितेको छ ।
झापा–५ भित्र पर्ने विभिन्न वडामा वडाध्यक्षका उम्मेदवारले पाएको मत हिसाब गर्दा एमाले पहिलो छ । एमालेले ४१ हजार ६१९, कांग्रेसले २२ हजार २२, माओवादीले १० हजार ७८८, राप्रपाले ८ हजार ३५३ र एकीकृत समाजवादीले १ हजार ९८८ मत ल्याएका छन् । २०७४ सालको निर्वाचनमा एमाले अध्यक्ष ओलीले देशभरको सर्वाधिक मतान्तरले कांग्रेस उम्मेदवारलाई हराएका थिए । ओलीले ५७ हजार १३९ मत ल्याई निर्वाचित हुँदा कांग्रेसका उम्मेदवार अधिकारीले २८ हजार २९७ मत ल्याएका थिए । दुई उम्मेदवारबीचको मतान्तर २८ हजार ८४२ थियो ।










प्रतिक्रिया दिनुहोस्