राजनीति

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक (सूचीसहित)



काठमाडौँ, १४ भदौ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आज गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गरेका हुन ।

१. विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाका लागि १७ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

२. आर्थिक वर्ष २०७९/०८० का लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतका आयोजनाहरूका लागि राजपत्राङ्कित स्तरका २८ र सातौँ तहका दुई गरी जम्मा ३० पदको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

३. आर्थिक वर्ष २०७९/०८० का लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका आयोजनाका लागि विभिन्न श्रेणीका राजपत्राङ्कित अधिकृत तहका ४३१ पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

४. आर्थिक वर्ष २०७९/०८० का लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत सञ्चालित विभिन्न आयोजनाहरूका लागि ५० राजपत्राङ्कित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको छ ।

५. वन तथा वातावरण मन्त्रालयअन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रमहरूका लागि राजपत्राङ्कित श्रेणीको ४७ अस्थायी दरबन्दी पनि स्वीकृत गर्ने निर्णय गरेको छ ।

६. आगामी भदौ २४ देखि २६ गतेसम्म भुटानमा आयोजना हुने इसिमोडको ५३औँ बोर्ड अफ गभर्नरको बैठकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेललाई स्वीकृति दिएको छ ।