समाचार

तीनजना झुन्डिएको अवस्थामा मृत फेला



बुटवल, १६ भदौ । कपिलवस्तुमा एकैदिन तीनजना झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

प्रहरीका अनुसार गएको मंगलबार झुन्डिएको अवस्थामा तीनजनाको शव भेटिएको हो । यसरी मृत फेला पर्नेमा दुई महिला र एक पुरुष छन् । यशोधरा गाउँपालिका, वाणगंगा नगरपालिका र शिवराज नगरपालिकाका एक/एकजना झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

यशोधरा–२, सोनबर्सीका ४० वर्षीय राममहेश पासी आँपको रुखमा साडीको पासो लगाई झुन्डिएको भेटिएको हो । यस्तै, वाणगंगा–६, अमौलीका २८ वर्षीय सिमबहादुर थारु घरमा टिनको छानामुनि रहेको फलामको पाइपमा प्लास्टिकको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेका थिए ।

उता, शिवराज–१, वनकट्टाकी ३८ वर्षीया मनकला थापा क्षेत्री (थारु) आफ्नै घरको कोठामा फलामको पाइपमा प्लास्टिकको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । तीनवटै घटनामा झुन्डिनुको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।