राजनीति

संस्कृतिको संरक्षणका लागि दिइने रकम बढाउँदै लैजानुपर्छ : मन्त्री श्रेष्ठ



काठमाडौँ, २२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिको संरक्षणका लागि दिइने रकम समयानुकुल बढाउँदै लैजान आवश्यक रहेको बताएका छन ।

आज इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले इन्द्रजात्रा सांस्कृतिक महत्वले भरिपूर्ण भएकोले यसको छुट्टै महत्व र पहिचान रहेको बताए । मन्त्री श्रेष्ठले सांस्कृतिक महत्व बोकेका पर्वहरुलाई समयसापेक्ष बनाइ उनीहरुको जगेर्नाका लागि समर्थन र सहयोग गर्नुपर्ने बताए । उनले पर्व सञ्चालनको व्यवस्थालाई पनि समयसापेक्ष परिमार्जन गरेर अघि बढ्न आवश्यक रहेको बताए । उनले सांस्कृतिक पर्व पैसाले मात्रै बच्ने नभएकोले सबैको संलग्नता र सहयोगको आवश्यक भएको बताए ।

उनले भने, ‘यो हाम्रो ऐतिहासिक दिन हो । इन्द्रजात्रा भन्ने पर्व सांस्कृतिक पर्व हो । हाम्रो पहिचान र सभ्यता हो । यसको ऐतिहासिक महत्व छ । हाम्रा जात्रा, पर्व, संस्कृतिहरुको लागि हिजोको अवस्थामा जसरी सञ्चालनको लागि व्यवस्था भएको थियो, त्यो अब समयसापेक्ष परिमार्जन गर्नुपर्छ, ‘यसमा दिइरहेका जुन खालका अनुदानहरु छन्, सञ्चालनको लागि दिने रकम अहिलेको समय सापेक्ष बढाउनुपर्छ । संस्कृतिको संरक्षणका लागि समयानुकुल, समर्थन र सहयोग गर्नुपर्छ । यो पैसाले मात्रै बच्ने संस्कृति होइन, सबैको संलग्नतामा मात्रै यी पर्वहरु आयोजना हुनसक्छ । गुठीहरुलाई कसरी संरक्षण गर्ने, यसको लागि चाहिने खर्चलाई कसरी व्यवस्थापन गर्ने भन्नेकुरा हेरेर समयसापेक्ष परिमार्जन गरेर अघि बढ्नुपर्ने आवश्यकता छ ।’