जनकपुर, २३ भदौ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे छलफल भइरहेकोले कांग्रेसलाई १०० छाड्नुपर्ने बताएका छन् ।
प्रेस युनियनले आज जनकपुरमा गरेको कार्यक्रममा बोल्दै कोइरालाले बहुमत ल्याउन पनि कांग्रेसले १०० सिट लिनुपर्ने बताएका हुन्। कांग्रेस केन्द्रीय समितिले बहुमत ल्याउन र पाँच वर्ष सरकार चलाउन गठबन्धन गर्ने निर्णय गरेको थियो । १६५ प्रतिनिधि सभा क्षेत्रमै एक्लै उठ्ने हो भने पनि कांग्रेसभित्र आकांक्षीलाई व्यवस्थापन गर्न गाह्रो रहेको उल्लेख गर्दै कोइरालाले गठबन्धन गर्दा कम्तीमा पनि १०० क्षेत्र कांग्रेसले लिनुपर्ने बताएका छन् । सत्ता गठबन्धनका अन्य दललाई प्रत्यक्षतर्फ धेरै सिट छाड्दा समानुपातिकतर्फ कांग्रेसको मत घट्न सक्ने पनि कोइरालाले बताए ।
कोइरालाले भने, ‘१०० सिट नलिए कसरी बहुमत ल्याउन सकिन्छ? तर १०० सिट दिने पक्षमा सत्ता गठबन्धनका अरू दल छैनन्। १०० भन्दा कम सिट लिँदा त विद्रोह हुन सक्छ । यो कुरा नेतृत्वसामु हामीले भनिरहेका छौं ।’










प्रतिक्रिया दिनुहोस्