राजनीति

पूर्वाधार विकास र वातावरण संरक्षणबीच तालमेल मिल्नुपर्छ : मन्त्री यादव



काठमाडौँ, २५ भदौ । वन तथा वातावरण मन्त्री प्रदीप यादवले भौतिक विकास र वातावरण संरक्षणबीच तालमेल मिलाउनु पर्ने बताउनुभएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री यादवले डाँडाकाँडा भत्काउने विकासले देश समृद्ध नहुने भएकाले वातावरण मैत्री विकासको योजना बनाउनुपर्ने बताउनुभयो । कुनै पनि लगानीमा वन मन्त्रालय बाधक नहुने भन्दै मन्त्री यादवले ६ महिनामा वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्नुपर्ने गरी कानून बनाउन लागेको जानकारी दिनुभयो ।

मन्त्री यादवले भन्नुभयो, ‘नेपालको भौतिक पूर्वाधार विकास भएको छैन् । हामीले भौतिक पूर्वाधार निर्माण गर्नु पर्नेछ । तर, हामी वातावरण संरक्षण नगरी भौतिक पूर्वाधार विकास गर्न सक्दैनौं । वन मन्त्रालय विकास र लगानीको अवरोधक होइन । तपाईंहरु वन मन्त्रालयलाई भिलेन नम्झनु होला । हिजो मात्रै पाकिस्तानमा आएको बाढीले हजारौं व्यक्तिले ज्यान गुमाउनु परेको छ । त्यसैले विकास गर्दा हामीले वातावरण जोगाउने विषयमा थप गम्भीर हुनु पर्ने भएको छ ।’