काठमाडौँ, २८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा र जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच शिष्टाचार भेटवार्ता भएको छ ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री देउवाले नेपाल र चीनबीच बहुआयामिक सम्बन्ध रहेको बताएका छन् । देउवाले नेपालको परराष्ट्र नीति पञ्चशीलको सिद्धान्तमा आधारित रहेको जानकारी दिँदै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन् ।
प्रधानमन्त्री देउवाले चीनका विरुद्ध नेपाली भूमिमा कुनै पनि गतिविधि गर्न नदिइने प्रतिबद्धता जनाए । उनले नेपालको आर्थिक, सामाजिक क्षेत्रमा विगत लामो समयदेखि चीनले गर्दै आएको सहयोगको प्रशंसा गरेका छन् ।
नेपाल भ्रमणमा रहेका अध्यक्ष लीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गरिसकेका छन् ।










प्रतिक्रिया दिनुहोस्