काठमाडौं, ३१ भदौ। नेकपा एमालेले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका उम्मेदवार छान्न सचिवालय बैठक बोलाएको छ । एमालेले असोज १ गते शनिवार केन्द्रीय सचिवालय बैठक बोलाएको हो ।
एमाले केन्द्रीय कार्यालयका अनुुुसार शनिवार १ बजेपछि बस्ने गरी केन्द्रीय सचिवालय बैठक बोलाएको हो । एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको लागि उम्मेदवार सिफारिश आएपछि आवश्यक छानविन गरी बैठक बोलाएको छ ।
निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटी र जनबर्गीय संगठनहरुबाट आएको नाममा एकसरो छानविन सकिसकेको छ । छानविनपछि आवश्यक नाम काँटछाँट गरी सचिवालयमा छलफल गर्न बैठक बोलाइएको हो ।
एमाले केन्द्रीय कार्यालयका सचिव अधिकारीका अनुसार भदौ दोस्रो साता बसेको केन्द्रीय कमिटी बैठकले क्षेत्रीय कमिटी, जिल्ला कमिटी हुँदै प्रदेश कमिटीलाई उम्मेदवार सिफारिस गरेर पठाउन दिएको निर्देशन अनुसार सिफारिस भएर आएका उम्मेदवारका नाममाथि छलफल गर्न केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो ।
असोज २ र ३ गते समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउनुपर्ने भएका कारण सूचीबारे निर्णय गर्न बैठक बस्न लागेको हो । एमालेले समानुपातिकबाट यसअघि सांसद भएकालाई नदोहोर्याउने मापदण्ड तय गरिसकेको छ ।










प्रतिक्रिया दिनुहोस्