समाचार

आजदेखि देशभर रुट परमिट खुला



काठमाडौँ, १० असोज । आजदेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि देशभर रुट परमिट खुला भएको छ ।

दशैँमा यात्रुको ओहोरदोहोरलाई सजिलो बनाउनका लागि रुट परमिट खुला गरिएको हो । यसरी एक रुटमा चल्ने गाडी अर्को रुटमा चल्दा दुर्घटनाको जोखिम धेरै हुने भएकाले आजदेखि गाडीको अनुगमन र यान्त्रिक परीक्षणमा कडाइ गरिएको छ ।

आजदेखि धेरै सङ्ख्यामा यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिने हुँदा परीक्षणमा कडाइ गरिएको हो । यान्त्रिक परीक्षण विना काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो तथा मध्यम दूरीका कुनै पनि गाडी चलाउन नपाइने गृह मन्त्रालयले जनाएको छ ।

काठमाडौँसँग नाका जोडिएका सबै नाकामा गाडीको यान्त्रिक परीक्षण गर्न भनिएको छ । यान्त्रिक परीक्षणको व्यवस्थापन सम्बन्धित गाडीको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग र यातायात व्यवसायीको समन्वयमा हुनेछ । बीमा नभएका गाडी दुर्घटना भएमा क्षतिपूर्ति दिन कठिनाइ हुने तथा यान्त्रिक परीक्षण नभएका गाडी दुर्घटनामा पर्ने जोखिम रहेकाले यस्ता गाडीले रुट परमिट नपाउने पनि गृह मन्त्रालयले जनाएको छ ।