समाचार

पुलिस हुँ भन्दै ठग्ने दुई युवा पक्राउ



उदयपुर, १५ असोज । जिल्ला प्रहरी कार्यालय उदयपुरले प्रहरी हुँ भन्दै ठगि हिड्ने दुई जना युवालाई पक्राउ गरेको छ ।

सर्वसाधारणलाई धम्की दिदै आफु सिभिल प्रहरी भएको भन्दै ठगी गर्ने रौतामाई गाउँपालिका– ७ मुर्कुर्चीका २३ वर्षका दिलिप भन्ने दिपेश लुङ्गेली मगर र त्रियुगा नगरपालिका– १२ पुरानो गाईघाटका ३३ वर्षका सन्तोष राईलाई पक्राउ गरेको हो ।

उनीहरुले चौदण्डीगढी नगरपालिका– ८ घर भई त्रियुगा नगरपालिका–१२ त्रिवेणी टोलमा बस्दै आएका राजबल राईलाई नियन्त्रणमा लिई आफूहरु सिभिल प्रहरी हुँ भन्दै जबरजस्ती २० हजार नगद र मुक्तिनाथ बिकास बैंकको चेकमा ५० हजार काट्न लगाई हस्ताक्षर गराई रेडमी-८ मोडलको स्मार्ट मोबाईल समेत लगेका थिए ।

नगद तथा चेक मोवाईल लिएर उनीहरु स ३ प ९१५५ नम्बरको मोटरसाईकल चढेर गएका थिए । पीडित राईले ठगीमा परेको भनि जिल्ला प्रहरी कार्यालय उदयपुरमा जानकारी दिएपछि खोजतलासको क्रममा उनीहरुलाई मुक्तिनाथ बिकास बैंकको चेक र मोवाईल तथा स ३ प ९१५५ नम्बरको मोटरसाईकलसहित रौतामाई गाउँपालिका–७ मुर्कुची बजारबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।