राजनीति

गिनिज बुकमा नाम राखेको भए भक्तपुर कांग्रेसले दुई विषयमा राख्थ्योः नेता बस्नेत



भक्तपुर, १६ असोज । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो समयमा नेकपा एमालेमाथि सामाजिक सञ्जालको दुरुपयोग तथा फेक आइडी बनाई सोसियल मिडियामा हुने आक्रमण काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह र स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका केही समर्थकको मात्र भएको दावी गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी एमाले, सूर्यविनायक नगरपालिका ७ नं वडा कमिटीद्वारा आयोजित विजया दशमी, दिपावली, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेता बस्नेतले सामाजिक सञ्जालको फेक आईडी बालेन आइडरु र अस्लिल कमेन्ट रवी लामिछाने कमेन्ट भएको दावी गर्नुभयो । बालेन तथा लामिछानेका केही समर्थकहरुले फेक आइडी बनाई साइवर कानुन नभएकाले सामाजिक सञ्जालको चरम दुरुपयोग भइरहेको उल्लेख गर्दै फेक आइडिहरुबाट सामाजिक सञ्जालमा विकृति र विसंगतिलाई मौलाउने कार्यलाई नियन्त्रण अपरिहार्य रहेको बताउनुभयो । केपी ओली एमालेको प्रधानसेनापति रहेको उल्लेख गर्दै उहाँले अध्यक्ष ओली माथिको सामाजिक सञ्जाल तथा विभिन्न कार्यक्रममा शाब्दीक रुपमा आक्रमण प्रतिरक्षा गर्न एमालेका कार्यकर्ताले नसके समृद्ध नेपाल सुखी नेपालीको अभियानले सार्थकता नपाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको दलीय व्यवस्थालाई नै कमजोर बनाउने गरी केही व्यक्ति विदेशीको इसारामा लागेका छन् । म लगायत एमालेले त्यसको विरोध गर्दा सामाजिक सञ्जालको दुरुपयोग तथा फेक आइडीहरु बनाई म, एमाले र एमालेका अध्यक्ष केपी ओली माथि प्रहार हुने गरेको छ । यसलाई जतिसक्दो चाँडो साइवर कानुन ल्याई नियन्त्रण गर्न जरुरी रहेको छ । केपी ओली हाम्रो पार्टीको प्रधानसेनापती हो । प्रधानसेनापतिमाथिको आक्रमण अन्य सेनाहरुले रक्षा गर्नुपर्छ । त्यो भनेको एमालेको कार्यकर्ता हो । तपाईहरु आजैदेखी सामाजिक सञ्जालको सही सदुपयोग गरी एमालेको लागि खम्बा भएर उभिनुस्, अराजक तत्वलाई शिक्षा प्रदान गर्नुस् ।’

एमालेले गरेको विकास र नयाँ नयाँ योजनाहरु जनताको माझमा पुर्याउने जिम्मा कार्यकर्ताको रहेको उल्लेख गर्दै नेता बस्नेतले भक्तपुरको विकास सदुपयोग गरिरहेका केही राजनीतिक पूर्वाग्रह राख्नेले विकासको विरोध गरेको आरोप लगाउनुभयो । जहाँ सडक पुगेको छ, त्यहाँका केही अराजक व्यक्तिहरुले बाटो बनाएर मात्र विकास हुन्छ ? भनि प्रश्न गर्ने गरेको उल्लेख गर्दै उहाँले सडक विकास हो कि हैन भन्ने कुरा बुझ्न सडक नपुगेका जनताको आवाज सुने पुग्ने उदाहरण प्रस्तुत गर्नुभयो ।

एमालेको नेतृत्व आएमात्र मुलुकले विकास पाउने तथा जनताले सुख पाउने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘मुलुकभर एमालेले नजिते रेलमार्ग, हवाई मार्ग, ल्यांग्रीको पानी, मेलम्चीको पानी, पानीजहाज, सडक, पुल, विद्यालय, विभिन्न सम्पदाको संरक्षण नहुने, मनोहरा करिडोर, हनुमन्ते करिडोर, सिपाडोलमा रंगशाला, कर्वोड हल, सूर्यविनायक धुलीखेल सडकको स्तर उन्नती, क्यान्सर अस्पताल, आधुनीक वीर अस्पताललगायतका विकासका कार्यहरु बन्देनन् । बन्न थालेका पनि रोकिने छन् । कांग्रेसले जनताको लागि विकास भन्दा पनि आफ्नो नेता तथा कार्यकर्ताको घरको विकास गर्नमात्र छुट्याउने गरेको छ । कार्यकर्ताको भरण पोषणको नाममा कांग्रेसले चरम भ्रष्टाचार गरेको गर्ने कार्य उसको जन्मदैको बानि हो । कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार आयो, बजेट खायो भएको छ । एमालेले ल्याएका असंख्य योजना तथा बजेट कटौती भएको छ । त्यसैले भक्तपुरमा गठबन्धनले आगामी निर्वाचनमा भोट माग्ने नैतिक आधार छैन । भक्तपुरमा कांग्रेस नेतृत्वको गठबन्धनले मुखमा माक्र्स र टालो लगाएर भोट माग्न आउँछ ? कांग्रेसले फेरी जनतालाई झुक्याउन नक्कली आश्वासन लिएर आउनेछ । त्यसको लागि जनता सचेत हुनपर्नेछ ।’

भक्तपुर कांग्रेसले गिनिज बुकमा नाम राखेको भए दुई विषयमा राख्न सक्ने दावी गर्दै उहाँले भन्नुभयो, ‘भक्तपुर कांग्रेसले गिनिज बुकमा नाम राखेको भए दुई विषयमा राख्ने थियो । पहिलो मध्यपुर थिमी नगरपालिकामा विगतमा कांग्रेसले नेतृत्वव गर्दा नेपालकै भ्रष्टाचारी नगरपालिका बनेको थियो । त्यस्तै दोस्रो कांग्रेसका विगतमा तर्फबाट निर्वाचित भक्तपुर क्षेत्र नं. २ का रामेश्वर ढुंगेलले पाँच वर्षमा सदनमा एक पटक पनि नवोल्ने सांसद भनि राख्न सक्थ्यो ।’

विगतमा गुण्डुका नागरिकले शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रहरुमा जनताले भोगेको दुःख स्मरण गर्दै नेता बस्नेतले सामाजिक व्यवहारलाई आधुनिक तवरले लैजानुपर्नेमा जोड दिनुभयो । सामाजिक सञ्जालको प्रयोगले १६ वर्षदेखी २५ वर्ष उमेर समूहका नयाँ पुस्तालाई समाजमा घुलमिल गराउन लाग्नुपर्नेमा उहाँको जोड रहेको थियो । उहाँले भन्नुभयो, ‘आफु अजरवैजान गएको समयमा त्यहाँका युवाहरुको समस्या केहो ? भनि सोद्धा कम्प्युटर र मोबाइलबाट युवाहरुलाई समाजमा कसरी ल्याउने भन्ने हो ? भनि जवाफ दिएका थिए । नेपालमा पनि सोही समस्या विकराल बन्ने अवस्था रहेको छ । नयाँ युवालाई समाजमा घुलमिल गराउन तपाई हामी सवै मिलेर लाग्नुपर्छ ।’

कार्यक्रममा जिल्ला समन्यव समितिका प्रमुख इश्वर थापा, एमालेका जिल्ला नेता तथा समाजसेवी किरण थापा, मनकराम थापा, सरिता कुँवर, एमाले सूर्यविनायक नगरकमिटी अध्यक्ष रविन्द्र सापकोटालगायतको उपस्थिती रहेको थियो ।