समाचार

नुहाउन गएका बाबु–छोरा बेपत्ता



संखुवासभा, १८ असोज । जिल्लाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित सभाखोलामा नुहाउन गएका बाबु–छोरा बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा खाँदबारी–७ का ४० वर्षीय तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारका अनुसार दुवै जना सोमबार दिउँसो आफ्नै गाडी लिएर सभाखोला गएका थिए । उनीहरू घर नफर्किएपछि आज आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

बेपत्ता बाबु–छोराको खोजी भइरहेको गोदारले बताए । प्रदेश १–०२–००२ च ५९२० नम्बरको जिप, कपडा, जुत्ता, मोबाइल, साबुनलगायत सामग्री सभाखोला किनारमा भेटिएको प्रहरीले जनाएको छ । बेपत्ताको खोजी गर्न दुई प्रहरी निरीक्षकको नेतृत्वमा विभिन्न स्थानमा प्रहरी टोली परिचालन गरिएको गोदारले बताए। बेपत्ता तारानाथ अरुण तेस्रो आयोजनामा सवारी चालकको रूपमा कार्यरत थिए । रासस