समाचार

एकै परिवारका तीनजनाको शव झुन्डिएको अवस्थामा फेला



गोरखा, २२ असोज । गोरखामा रुखमा झुन्डिएको अवस्थामा एकै परिवारका तीनजनाको शव फेलापरेको छ । भीमसेन थापा गाउँपालिका वडा नम्बर–६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा छोराको शव झुन्डिएको अवस्थामा आज बिहान फेलापरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए ।

“सात वर्षका दुई बालकको काप्राको रुखमा झुन्डिएको अवस्था फेलापरेको छ,” उनले भने, “बुबा हेमबहादुरको शव अर्कै रुखमा भेटिएको छ ।”घटनाको प्रकृति हेर्दा रानाले दुई छोरालाई रुखमा झुन्ड्याएर हत्या गरी आफूले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको उनको भनाइ छ । घरबाट झन्डै डेढ किलोमिटर पश्चिमदक्षिणमा छोराहरूको शव एउटै डोरीमा झुन्डिएको अवस्थामा फेलापरेको उनले बताए । हेमबहादुरको शव भने बालकहरू झुन्डिएको रुखभन्दा केही पर अर्को रुखमा फेलापरेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा अहिले प्रहरीको टोली पुगेर अनुसन्धान सुरु गरेको उनले बताए । “घटना कसरी घट्यो भनेर खुल्न बाँकी नै छ,” उनले भने, “शवको मुचुल्का उठाउनका लागि प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ । तीनैजनाको शव पोस्टमार्टमका लागि गोरखा अस्पतालमा ल्याउने तयारी भइरहेको छ ।” बिहान स्थानीयले रुखमा मान्छे झुन्डिएको देखेपछि घटनाका बारेमा जानकारी पाएको वडाध्यक्ष रन्जन रिमालले जानकारी दिए ।

मृतक राना डेढ महिनाअघि मात्र श्रीमतीसँग सम्बन्धविच्छेद गरेर बसेका थिए । रासस