भक्तपुर, २२ असोज । नेपालीहरुको महान् पर्व विजय दशमीको अवसरमा नेकपा एमाले भक्तपुरका उम्मेदवारहरुले मानव कल्याण समाज (सेवा घर) मा दशैं मनाउनुभएको छ । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभाको उम्मेदवार महेश बस्नेत, क्षेत्र नं. १ प्रतिनिधिसभाका उम्मेदवार नवराज गेलाल, क्षेत्र नं. २ ‘क’ प्रदेशसभाका उम्मेदवार किरण थापासहितका नेताहरुले मानव सेवा घरमा दशैं मनाउनुभएको छ । त्यस्तै सूर्यविनायक नगरपालिका वडा नं. ९ नलिनचोक स्थित बाल सेवा घरमा समेत वालवालिकासँग उहाँहरुले दशैं मनाउनुभयो ।
‘सेवा नै धर्म हो’ भन्ने मुल मर्मका साथ उहाँहरुले गरिव तथा असहायको साथमा दशैं मनाउने उद्देश्यका साथ उहाँहरु मानव सेवा घरमा पुग्नुभयो । सुमित्रा चौलागाईको नेतृत्वमा चाँगुनारायणमा सञ्चालनमा रहेको मानव सेवा आश्रममा आज पुगी उहाँहरुले वेसाहारालाई साहारा दिने उद्देश्यका साथ दशैं मनाउनुभयो । आश्रममा रहनुभएका दर्जनौं बेसाहारा नागरिकलाई टीका लगाई दिनुभयो । उहाँहरुले टीकाको साथमा खाना तथा विभिन्न प्रकारका फलफुलको व्यवस्थापन गरी बेसाहाराको सारथीको रुपमा दशैं मनाउनुभयो । टीकाको साथमा उहाँहरुले उक्त सेवा घरमा रहनुभएका मानिसको वस्तुस्थिती, आवश्यकता, स्वास्थ्य अवस्थालगायतको बारेमा जानकारी लिनुभयो । त्यससँगै उहाँहरुले सेवाघरको लागि आवश्यक जस्तोसुकै साथ र सहयोगमा आफुहरु जहिले पनि साथमै रहेको बताउनुभयो । सेवाको भावना पैसासँग तुलना नहुने उल्लेख गर्दै उहाँले भक्तपुरका सडकमा सडक मानव नदेखीने गरि मानव कल्याण समाजले काम गरेकोमा विशेष आभार प्रकट गर्नुभयो ।
उक्त कार्यक्रम पश्चात संक्षिप्त कुराकानीमा नेता बस्नेतले एमालेको नेतृत्वमा भएको सरकारको पालामा ‘कोही भोकले मर्नु पर्दैन, सडकमा जीवन विताउनु पर्दैन’ भन्ने अभियानले बेवारिसे मानवको जिम्मेवारी सरकारले लिनुपर्नेमा सेवा घरले लिएर सरकारलाई समेत सहयोग गरेकोमा विशेष धन्यवाद व्यक्त गर्नुभयो । सेवा घरलाई आगामी दिनमा समेत निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाउँदै नेता बस्नेतले स्थानीय तहको सहकार्यमा सेवा घरको लागि आर्थिक, स्थायी भौतिक संरचना निर्माण, खानेपानीलगायतका कार्यहरुमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।










प्रतिक्रिया दिनुहोस्