राजनीति

प्रधानमन्त्रीद्वारा प्रहरीका सबै संगठन प्रविधिमैत्री बनाउन निर्देशन



काठमाडौँ, ३१ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउँदै लैजान निर्देशन दिएका छन् ।

आज ६७ औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सूचना प्रविधिलाई समायानुकूल परिवर्तन गरी अघि बढ्नसके मात्रै अपेक्षित परिणाम हासिल गर्न सकिने बताए ।

उनले प्रहरीलाई आगामी दिनमा थप आधुनिक, व्यावसायिक, श्रोत, साधनले सम्पन्न बनाउन सरकार प्रतिवद्ध रहेको पनि बताए ।“प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउँदै लैजान निर्देशन दिन चाहन्छु,” देउवाले भने, “नेपाल प्रहरीलाई आगामी दिनमा थप आधुनिक, व्यावसायिक, श्रोत, साधनले सम्पन्न बनाउन सरकार प्रतिवद्ध छ ।”

प्रधानमन्त्री देउवाले आगामी निर्वाचन शान्तिपूर्ण रुपमा गराउनेबारेमा प्रहरीको प्रमुख जिम्मेवारी रहने भन्दै ऐन, कानुनले दिएको आफ्नो अधिकार प्रयोग गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउन निर्देशन दिए ।