राजनीति

चुनावपछि पनि गठबन्धन रहन्छ : मन्त्री श्रेष्ठ



काठमाडौँ, १ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावपछि पनि गठबन्धन कायम रहने बताएका छन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ८(ख)को चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै बाम-लोकतान्त्रिक गठबन्धनबाट काठमाडौँ-८ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका मन्त्री श्रेष्ठले प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलहरुबीच रहेको गठबन्धन कायम रहने बताए ।

विगतको लोकतान्त्रिक आन्दोलनमा सामेल भएका दलहरुबीच बाम-लोकतान्त्रिक गठबन्धन कायम गरिएको भन्दै मन्त्री श्रेष्ठले सत्ता गठबन्धनबीच सहकार्य चुनावपछि पनि जारी रहने बताए । जनताको समृद्धिको आकांक्षालाई आगामी निर्वाचनपछि बन्ने सरकारले निरन्तर रुपमा अघि बढाउने उनले बताए । विगतमा राष्ट्रिय सभा निर्वाचनदेखि सुरु भएको गठबन्धन अभ्यास सफल हुँदै आएको बताउँदै उनले गठबन्धनका दलहरुबीच चुनावमा इमान्दारीता कायम हुने विश्वास व्यक्त गरे ।