Banner News

मतदाता शिक्षा कमजोर: १० प्रतिशत भन्दा बढी मत बदर हुन सक्ने



काठमाडौँ, २१ कार्तिक । निर्वाचन आयोगले समयमै ध्यान दिन नसके आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा १० प्रतिशतभन्दा बढी मत बदर हुन सक्ने संक्षिप्त नमुना सर्वेक्षणले देखाएको छ । नेपाल समाचारपत्रले शनिबार र आइतबार काठमाडौंको भित्री क्षेत्र असन, इन्द्रचोक, भीमसेनस्थान, टेकु र कालिमाटी क्षेत्रमा झन्डै एक सय स्थानीय नागरिकका बीच गरेको सर्वेक्षणबाट यो निष्कर्ष निस्केको हो । मतदातालाई यसपटक चारवटा मतपत्र हुन्छ भन्ने नै जानकारी नभएको, मतपत्र पट्याउने तरिका थाहा नभएको, मतदानप्रति जाँगर कम भएको र निराशा बढी भएको पाइयो ।

नेपाल समाचारपत्रले चार रिपोर्टर प्रयोग गरी नमुना सर्वेक्षण गरेको हो । सर्वेक्षणमा सबैभन्दा बढी स्थानीय पसले, व्यापारी, विद्यार्थी र शिक्षक रहेका थिए । प्रतिशतका हिसाबले करिब ६० प्रतिशत सहभागी पसले–व्यापारी रहेका थिए ।‘ओहो, चारवटा मतपत्र हुन्छ र, लौ थाहै थिएन त १’ अधिकांश सहभागीको प्रतिक्रिया थियो । ‘झन्झटिलो पो रहेछ त मतदान,’ ‘मतदान गर्न जाँगर नै छैन,’ ‘म त भोट हाल्दिनँ,’ जस्ता जबाफहरू सहभागीहरूले बारम्बार दोहोर्याए ।

नमुना सर्वेक्षणमा चारवटा मतपत्र हुने जानकारी नै नभएका मतदाताहरूको संख्या ७४ प्रतिशत रहेको छ । निर्वाचनप्रति सामान्य उत्साह देखाउने सहभागीहरू केवल १७ प्रतिशत मात्र देखिए । निर्वाचनप्रति सामान्य उत्साह देखाउनेहरूको समान टिप्पणी थियो, ‘भर्खर दोस्रोपटकको निर्वाचन हो, हामी नेपालीहरू लोकतान्त्रिक अभ्यास सिक्दै छौं, अहिले नै हरेस खानुहुन्न १’ मतदाता शिक्षा कार्यक्रमलाई व्यवस्थित गर्न मतदाता शिक्षा कार्यक्रम निर्देशिका, २०७९ निर्वाचन आयोगले कार्यान्वयनमा ल्याएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।