राजनीति

एमालेले बहुमत ल्याउँछ: उपाध्यक्ष नेम्वाङ



काठमाडौँ, २४ कार्तिक । नेकपा एमालेका उपाध्यक्ष तथा इलाम क्षेत्र नम्बर २ प्रतिनिधिसभाका उम्मेदवार सुवासचन्द्र नेम्वाङले संसदीय प्रणालीमा विश्वास गर्ने एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने बताएका छन् । मंसिर ४ पछि एमाले बहुमतसहित जनताको मत लिएर सिंहदरबार पस्ने दाबी नेम्वाङको थियो ।

इलाम नगरपालिका–९ वडा कमिटीले बुधबार आयोजना गरेको चुनाव प्रसार–प्रचार कार्यक्रममा उनले देशव्यापीरूपमा आफ्ना एजेण्डासहित एमाले हिजोआज जनताका घर–घरमा पुगेको बताए । विगत वर्षमा अन्य निर्वाचन क्षेत्रमा समेत सघाउन जाने नेता नेमवाङले यसपटक यहाँका जनतालाई बुझाउनसमेत बाहिर जान नभ्याउने बताए ।

निर्वाचनबाट जनताले काम गर्नसक्ने सरकार बनाउने उनको भनाइ छ । नेता नेम्वाङले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुँदासमेत सरकार चुप लागेर बसेको आरोप लगाएका थिए । उनले आफ्नो पार्टीले घोषणापत्र सार्वजनिक गरिसकेको बताउँदै सोहीअनुसार अघि बढ्ने बताए । रासस