Banner News

अर्थमन्त्री शर्माद्वारा पुनः अर्थ मन्त्रालयमा चलखेल



काठमाडौँ, २५ कार्तिक । अर्थ मन्त्रालयले निर्वाचन मुखैमा भन्सार विभागका महानिर्देशक र आन्तरिक राजस्व विभागका महानिर्देशक फेर्ने प्रयास गरे पनि असफल भएको छ । यी दुवै सरकारी निकाय आकर्षक र महत्वपूर्ण मानिन्छन् ।

राजस्व संकलनदेखि महत्वपूर्ण कार्य गर्ने जिम्मेवारीमा रहेका यी निकायमा निर्वाचन आउनै लाग्दा अर्थ मन्त्रालयले महानिर्देशक फेर्ने प्रयास गर्नुलाई शंकास्पद मानिएको छ । अर्थ मन्त्रालयले भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराई र आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्यलाई सरुवा गरी ती दुवै निकायका अन्यलाई लैजान चाहेको थियो ।

तर, निर्वाचन आयोगले सहमति नदिँदा दुवै सरुवा रोकिएको छ । निर्वाचन आउनै लाग्दा अर्थमन्त्री जनार्दन शर्माको रुचिअनुसार दुवै महानिर्देशक सरुवा प्रयास गरिएको अर्थ मन्त्रालय स्रोत बताउँछ । स्रोतका अनुसार मन्त्रालयभित्रै यस कार्यलाई ‘चलखेल’का रूपमा लिइएको छ । भन्सार विभागमा जाने तयारी गरेका बुढा अर्थमन्त्री शर्माका ‘विश्वास पात्र’ हुन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।