राजनीति

गोरखाको लोकतन्त्र र निर्वाचन परिणाम संसारले देखोस् : अध्यक्ष दाहाल



गोरखा, २५ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंसिर ४ मा हुने निर्वाचन विकास र शान्तिलाई अघि बढाउने र त्यसलाई रोक्नेबीचको जनमत संग्रह भएको बताएका छन् ।

आज गोरखाको जौबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले परिवर्तनका पक्षधर र विरोधीबीचको लडाईं भएकाले परिवर्तनका पक्षधरले जित्नुपर्ने बताए । उनले गोरखाबाट राष्ट्र निर्माणको नयाँ थालनी गर्न आफू गोरखा आएको भन्दै राष्ट्रिय एकताका साथै विकास र सम्बृद्धिको भुमिका पनि गोरखाले खेल्नेमा आफू विश्वस्त रहेको बताए । ‘मंसिर ४ गते जनमत संग्रह हुदैछ ।

एकथरी मान्छेहरु अर्को गठबन्धन बनाएर राजालाई फेरि फिर्ता ल्याउनुपर्छ भन्नेपनि छन्’, अध्यक्ष प्रचण्डले भने, ‘हामी यो संविधानको रक्षा गरेर अघि बढ्ने पक्षमा छौ । राष्ट्रलाई अघि बढाउन चाहने, शान्तिलाई अघि बढाउन चाहने,विकास र सम्मृद्धितिर देशको नेतृत्व गर्न चाहनेहरुको गठबन्धन छ भने अर्कातिर यसलाई उल्ट्याउन चाहनेको छ । देशलाई फेरि अराजकता, निरंकुशता, सामन्तवाद र अध्यारोतिर लैजानेको बीचमा जनमत संग्रह हुँदैछ ।’

उनले गोरखा जिल्लाले देशैभरीबाट देख्ने गरी जित्नुपर्ने र रेकर्ड बनाउनुपर्ने पनि बताए । ‘सरदरभन्दा माथि ठुलो उचाइमा आयो गोरखामा भन्नेगरी जित्नुपर्छ । त्यसका लागि राजनीतिक दल र जनताबीचको आपसी सहमति चाहिन्छ । संसारले पनि गोरखाले फेरि अर्को इतिहास बनायो भन्ने देखिनुपर्यो’, सम्बोधनका क्रममा प्रचण्डले भने, ‘गोरखामा लोकतन्त्र र निर्वाचन परिणाम पनि संसारले देखोस् ।’