Banner News

सत्ता गठबन्धनलाई मत जोगाउनै सकस



काठमाडौँ, २९ कार्तिक । कर्णाली प्रदेशमा पर्ने १० जिल्लाका १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन हाबी देखिएको छ। २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मत र २०७४ सालको आम निर्वाचनमा दलहरूले समानुपातिकतर्फ पाएको मतका आधारमा सो प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन अघि देखिएको हो।

कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले पाएको मतलाई आधार बनाउँदा ११ निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन अघि छ। एमाले नेतृत्वको विपक्षी गठबन्धन एउटा क्षेत्रमा मात्र अघि छ। विपक्षी गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्मिलित छन्। स्थानीय चुनावको मतलाई आधार बनाउँदा माओवादीको प्रभाव क्षेत्रका रूपमा हेरिएको कर्णालीमा विपक्षी गठबन्धन दैलेख १ मा मात्र अघि छ।

उक्त क्षेत्रमा विपक्षी गठबन्धनको २१ हजार ३ सय ९७ हुँदा सत्ता गठबन्धनको मत ८ हजार ५ सय ७१ मात्र छ। बाँकी क्षेत्रमा सत्ता गठबन्धन ६ हजारदेखि २० हजारभन्दा बढी मतान्तरले अघि छ। यसलाई नै आधार बनाउने हो भने मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारका पक्षमा परिणाम आउने आकलन गर्न सकिन्छ। अझ विपक्षी गठबन्धनबाट राप्रपाले पाएको मत अलग्याउने हो भने सत्ता गठबन्धनको अवस्था अझ मजबुत देखिन्छ। किनकि राप्रपाले त्यस प्रदेशका १२ वटै क्षेत्रमा उम्मेदवारी दिएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।