राजनीति

अत्यधिक बहुमतले विजयी गराउन सत्ता गठबन्धनद्वारा संयुक्त अपिल



काठमाडौँ, १ मंसिर । सत्ता गठबन्धनले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि मतदान गर्न अपिल जारी गरेको छ ।

गठबन्धनका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षर रहेको संयुक्त अपिलमा संविधानको भावना अनुरूप लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास लागि गठबन्धनलाई जिताउन आवश्यक रहेको उल्लेख गरिएको छ ।

‘यो निर्वाचनको परिणामले विघटनकारी र प्रतिगमनका पक्षधरहरुको गठबन्धनलाई उदाङ्गो पार्दै परास्त गर्नु परेको छ । यसको अर्थ संविधानको भावना अनुरूप लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका पक्षधर लोकतान्त्रिक वाम गठबन्धनलाई विजयी गराउनु हो’, अपिलमा भनिएको छ, ‘तसर्थ पाँच वर्षमा हुने यो आम निर्वाचनलाई राष्ट्रिय महोत्सवका रुपमा लिएर मतदानमा सहभागी भई लोकतान्त्रिक वाम गठवन्धनका उम्मेदवारलाई अत्याधिक बहुमतले विजयी गराउनु हुन हार्दिक आह्वान गर्दछौं ।’