काठमाडौँ, ३ मंसिर । निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
आइतबार (भोलि) हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाइएको हो ।
आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा भइसकेको बताए । उनले स्थिर समयमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन टोली र मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमनको कार्य भइरहेको जानकारी दिए ।
“नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासनप्रणाली, जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिग मताधिकार, आवधिक निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको छ…,” उनले भने ।










प्रतिक्रिया दिनुहोस्